प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलकै निरन्तरता

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलकै निरन्तरता


काठमाडौं ।

प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ।

आज पनि तीन वटा मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खचए रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।