मधेस प्रदेशः ७८ महिनापछि जसपाले गुमायो मधेश प्रदेशको सत्ता

मधेस प्रदेशः ७८ महिनापछि जसपाले गुमायो मधेश प्रदेशको सत्ता


धनुषा ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन्। मधेश प्रदेशसभाको बुधबारको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५० मत परेको छ भने विपक्षमा ५३ मत परेको छ। सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मत आवश्यक थियो। प्रदेशसभामा एक सय तीन सांसद उपस्थित थिए।

मुख्यमन्त्री यादवले डेढ वर्षमा योसहित पाँचौँ पटक विश्वासको मत लिनुपर्याै। मुख्यमन्त्रीलाई उहाँको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ। विपक्षमा नेकपा (एमाले), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले मतदान गरेका छन्। विसं २०७९ पुस २३ मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए।

गठबन्धन फेरबदल हुँदा पनि यसअघि मुख्यमन्त्री यादवले चारपटक विश्वासको मत पाएका थिए तर पाँचौँ पटक विश्वास पाएनन्। योसँगै जसपा नेपालले मधेश प्रदेशमा पहिलो पटक सत्ता गुमाएको छ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढलेपछि अब यहाँ केन्द्रीय सत्ता समीकरणले सरकार बनाउने प्रयास सुरु गरेको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्तिलगायत पार्टीले यहाँ जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन्।

जसपाले ७८ महिनापछि सत्ता गुमायो
प्रादेशिक संरचना लागू भएपश्चात् विसं २०७४ मा भएको पहिलो निर्वाचनपछि यहाँ लगातार जसपा नेपालले नेतृत्व गरेको थियो। पहिलो निर्वाचनपछि तत्कालीन प्रदेश नं २ (हालको मधेस प्रदेश) मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपाल (हालको जनता समाजवादी पार्टी नेपाल) को सरकार बन्यो। तत्कालीन प्रदेशसभा संसदीय दलका नेता लालबाबु राउतले सत्ता गठबन्धन र राजनीतिक दलमा जस्तो परिवर्तन आएपनि पूरा कार्यकाल नेतृत्व गरेका थिए।

यसपछि २०७९ मङ्सिर ४ गते दोस्रो निर्वाचनपश्चात पनि जसपा नेपालकै नेतृत्वमा सरकारको गठन भयो। मुख्यमन्त्रीका रूपमा जसपा नेपालका नेता सरोजकुमार यादवले नेतृत्व सम्हाले। उनले गठबन्धन र दलमा फेरबदल हुँदा पनि चार पटक विश्वासको मत पाएका थिए तर यस पटक भने सत्ता गुमाउनुपर्याे। योसँगै मधेश प्रदेशमा तत्कालका लागि करिब साढे छ वर्ष अर्थात् ७८ महिनापछि जसपा नेपालले मधेश प्रदेशको सत्ता गुमाएको छ।

अब यहाँ पनि अरु प्रदेशमा जस्तै राजनीतिक अस्थिरता सुरु भएको छ। अरु प्रदेशमा केन्द्रीय सत्तासमीकरण फेरबदल भए पनि मधेशमा आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्राथमिकतामा राख्ने उपेन्द्र यादव अहिले केन्द्रदेखि प्रदेशसम्म सरकार बाहिर हुनुपरेको छ। जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले पार्टीका सात सङ्घीय सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रदेखि मधेश प्रदेशमा सत्ता गुमाउनु परेको हो।

यद्दपि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्दासम्म यहाँ आफूबाहेकको सरकार बनाउन नदिने पक्षमा जसपाले भरमग्दूर प्रयास गर्ने सो पार्टीका नेताहरू बताउँछन्। बुधबार प्रस्तावको विपक्षमा पनि सरकार बनाउन आवश्यक ५४ मत नपुगेपछि यो सम्भावना जिवितै रहेको जसपा नेताहरूको दावी छ।