आज १७ औँ गणतन्त्र दिवस मनाइँदै

आज १७ औँ गणतन्त्र दिवस मनाइँदै


जेठ १५, काठमाडौं । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनकारुपमा आज १७ औँ गणतन्त्र दिवस मनाइदैछ। सरकारले आज राष्ट्रिय दिवसकारुपमा विभिन्न कार्यक्रम गरी मनाउने र देशभर सार्वजनिक विदा दिँदै आएको छ।

मुलुकमा २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। त्यही दिनलाई आधार मानेर हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको छ। सरकारले यो वर्ष गणतन्त्र दिवस भव्यरुपमा मनाउन संघ, प्रदेश र स्थानीय तहमा समेत मूल समारोह समिति गठन गरी दिवस मनाउने तयारी गरेको छ।

संघमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन भई दिवस मनाउने तयारी छ भने प्रदेशमा मुख्यमन्त्री, जिल्लामा समन्वय समितिको प्रमुख र स्थानीय तहमा गाउँपालिकाका अध्यक्ष वा नगरपालिकाका प्रमुखहरूको नेतृत्वमा मूल समारोह समितिहरू गठन भएका छन्।

ती समितिहरूले आफ्ना क्षेत्रमा रचनात्मक कार्यहरू गर्दै यो दिवसलाई उत्सवकारुपमा मनाउने तयारी गरेका छन्। सरकारले जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाल राजदूतावास नियोगहरुमा दीपावली गर्न भनेको छ भने अन्य विभिन्न कार्यक्रमहरू समेत हुँदैछन्।