काठमाडौं ।
नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ विवादमा फसेको छ। नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते हुने निर्वाचन नजिकिदै गर्दा महासंघ विवादमा फसेको हो।
विधि, विधान र प्रक्रियाविपरीत केन्द्रीय समितिले सदस्यता सूची सार्वजनिक गरेको भन्दै विभिन्न संगठनहरुले विरोधस्वरुप विभिन्न जिल्ला शाखा र केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। प्रेस युनियनका नेता रमेश खतिवडाले तालाबन्दीको सुरुवात गरेपछि अन्य संगठनले त्यसमा साथ दिएका छन्।
त्यसलगत्तै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। जसमा नेपाल प्रेस युनियन समर्थित पत्रकारहरुले पनि साथ दिएका छन्।
महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरिएको हो।
महासंघको निर्वाचन आगामी जेठ २६ गते हुँदैछ। गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको निर्वाचनलाई प्रभावित गर्ने गरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याएकाले खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी लगाउनु परेको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए।
त्यस्तै प्रेस युनियनले पनि विभिन्न जिल्ला शाखाहरु तालाबन्दी गरिदिएको छ। उदयपुर, अछाम, काठमाडौं लगायतका केही जिल्लामा तालाबन्दी भएको छ । युनियनले महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
युनियनले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अध्यक्ष र महासचिवले महासंघको विधानअनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक गरेको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दछौं।’
महासंघका अध्यक्ष र महासचिवले सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियनले ठहर गर्दै यस कार्यको घोर आपत्ति गरेको जनाएको छ।
साथै महासंघको विधान र महाधिवेशनको म्यान्डेडअनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो।
‘विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियन माग गर्दछ,’महासचिव दिलिप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस युनियनले आपत्ति जनाउँदै सदस्यता विवाद निरुपण नगरी युनियनको आग्रहलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल पत्रकार महासंघ नै हुनुपर्ने जनाएको छ।
प्रतिक्रिया