काठमाडौं ।
कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन्। उनी ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन्।
गत बैशाख ३० गते आइतबार कामीरिताले २९ औँ पटक सगरमाथाको चुुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका थिए। उनी बुुधबार बिहान ७ः४९ बजे फेरि सर्वोच्च शिखर पुगेको आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमले जानकारी दिए।
फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज चुचुरोमा पुगेको सो कम्पनीले जनाएको छ। सोलुखुम्बु थामेका ५४ वर्षीया कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन्।
प्रतिक्रिया