अष्ट्रेलियामा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने


ब्रिजबेन अष्ट्रेलिया । अष्ट्रेलियामा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ। फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का) ले मे २६ मा अष्ट्रेलिया सबै राज्य र टेरेटोरीहरुमा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने भएको हो। 

संसारकै सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्रकृतिक रुपलेसमेत नेपाल आकर्षक देश रहेको बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ फेन्काले ‘एभरेष्ट डे’ मनाउँदै आएको कोषाध्यक्ष राजन कोइरालाले जानकारी दिए। उनले अष्ट्रेलियाका विभिन्न राज्यमा विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने बताएका छन्। 

एभरेष्ट डे’ (मे २६) को दिन ब्रिजवेनमा हाइकिङ गरिने उनले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ७ बजे जेसी सलाउदर फल्स पिकनिक एरियामा जम्मा भएर माउन्ट कुथाको ट्रेकिङ रुट हुँदै माउन्ट कुथा लुकआउटमा पुगेर फेरी सोही बाटो हुँदै जेसी सलाउदर फल्समा पुगेर हाइकिङ समापन गरिने छ। नेपालका उच्च हिम श्रंखलाहरुको दीर्घकालीन संरक्षणका साथै उच्च हिमाली भेगमा जाँदा अपनाउनु पर्ने सावधानीका विषयमा सम्बन्धित विज्ञहरूले जानकारी गराउने कार्यक्रम पनि रहेको छ।

जेसी सलाउदर फल्समा नेपाल अष्ट्रेलिया फ्रेन्डसिप एसोसियसन (नाफा)ले नेपालमा उत्पादित हस्तकलाका सामाग्रीहरूको स्टल राख्ने उनले बताए। उक्त स्टलमा राखिएका बस्तु बिक्रीबाट प्राप्त रकम नेपालको दुर्गम क्षेत्रका विपन्न परिवारलाई विभिन्न शीर्षकमा आत्मनिर्भर बनाउनका लागि खर्च गरिने उनको भनाइ छ। 

फेन्काका कोषाध्यक्ष कोइरालाले अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मा क्वीन्सल्याण्डवासी नेपाली, अष्ट्रेलियाली पर्वतारोही र प्रकृति प्रेमीलाई उपस्थितिका लागि आग्रह गरेका छन्। ‘एभरेष्ट डे’ मनाउनका लागि सहयोग गर्ने क्वीन्सल्याण्डवासी नेपाली व्यवसायी, एनआरएनए क्वीन्सल्याण्ड र एनएक्वीलाई कोषाध्यक्ष कोइरालाले धन्यवाद दिएका छन्। साथै उनले यस कार्यक्रमलाई सहयोग गर्न चाहने र कार्यक्रमका बारेमा थप जानकारी चाहिएमा राजन कोइराला र इशा शर्मालाई सम्पर्क गर्न पनि भनेका छन्। 

जेसी सलाउदर फल्सको पिकनिक एरियामा सहभागीलाई गैर आवासीय नेपाली संघ एनआरएनए क्वीन्सल्याण्डले चिया नास्ताको व्यवस्था गरेको संयोजक सम्भु गाईसी र सचिव श्याम बस्नेतले बताएका छन्। 

सन् १९५३ मे २९ तारिखमा तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई ‘एभरेष्ट डे’को रुपमा मनाइने गरिन्छ।