मेलबर्नको क्रेगीबर्न नेपाली समाजको आयोजना, अभिभावकहरु रमाए भ्रमणमा

मेलबर्नको क्रेगीबर्न नेपाली समाजको आयोजना, अभिभावकहरु रमाए भ्रमणमा


मेलबर्न, अष्ट्रेलिया ।

मेलबर्नको उत्तरी क्षेत्रमा अवस्थित क्रेगीबर्नमा बसोबास गर्ने नेपालीका अभिभावकहरु जो नेपालबाट आफ्ना सन्तान भेट्न आएका छन् उनीहरुकोलागि एकदिने भ्रमण आयोजना गरिएको छ । आपसमा भेटघाट बढाउने र अभिभावकहरुलाई विदेशी भूमिमा पनि नेपालको न्यास्रो मेटाउने उद्देश्यले क्रेगीबर्न नेपाली समाजले गत मे १५ तारिख बुधवार भ्रमण आयोजना गरेको थियो ।

काठमाडौ फाईनान्स तथा मोर्टगेजको प्रायोजन र द सेफ लाउन्जको सहप्रयोजनमा कार्यक्रम गरिएको थियो । कार्यक्रमको अवसरमा अभिभावकहरुलाई नेपाली मन्दिरमा दर्शन गराउँदै ग्रेट ओसन रोडसम्मको भ्रमण गराइएको थियो । ग्रेट ओसन रोड क्रेगीबर्नबाट करिब तीन घण्टाको दूरीमा रहेको छ ।

७० जना अभिभावकको सहभागिता रहेको उक्त भ्रमणका क्रममा क्रेगीबर्न नेपाली समाजकी अध्यक्ष कुसुम मगर, उपाध्यक्ष शोभा पौडेल, सचिव सुसन गौतम तथा सदस्य आकास पौडेल, पुर्वअध्यक्ष प्रेम कँडेलले साथ दिएका थिए । संस्थाका संस्थापक तथा सल्लाहकार अन्नत पौडेलको पहलमा सहभागीहरुलाई नेपाली मन्दिरमा अभिभावकहरुको लागि खाजाको व्यवस्था गरिएको थियो । अभिभावकको तर्फबाट भ्रमण टोलीको संयोजन नारायण घिमिरेले गर्नु भएको थियो।

अभिभावकहरुले भ्रमणको क्रममा रमाईलो नाच, गान, भजन गर्दै मनोरञ्जन गरेका थिए । ठाउँ ठाउँमा फोटो सुट , समुद्रको तटको अबलोकन तथा खानपानको ब्यवस्था पनि गरिएको थियो। करिब दिउँसो ३ बजे लोन बे बाट फर्किएको बुवाआमाहरुको भ्रमण टोलीलाई द सेफ लाउन्ज तथा बारले खानाको ब्यबस्था गरेको थियो भने बारका सन्चालक तथा भ्रमण ब्यावस्थापनका प्रमुख आकास पौडेल अन्य मनोरञ्जनात्मक कार्यक्रमको समेत संयोजन गरेका थिए ।

कार्यक्रम का अन्तिम चरणमा आफ्ना मन्तब्य राख्दै अभिभावक समुहका अध्यक्ष तेजप्रसाद पौडेलले कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिएका थिए । प्रायोजकको तर्फबाट बोल्दै राज खनियाँले यस किसिमको कार्यमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै सल्लाहकार पौडेलले अभिभावकहरुको सेवामा सानो कार्यक्रम भएपनि आयोजना गर्न पाउँदा संस्थाका सबैजना उत्साहित रहेको धारणा राखेका थिए । विहान ९ बजेबाट सुरु भएको भ्रमण राति ९ बजे क्रेगीबर्नमै फर्किएर सम्पन्न भएको थियो ।