अस्ट्रेलियाले महिला एसियली कप २०२६ को आयोजना गर्ने

अस्ट्रेलियाले महिला एसियली कप २०२६ को आयोजना गर्ने


मेलबर्न अष्ट्रेलिया ।

फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ।

एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले २०२६ को प्रतियोगिता आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई आधिकारिक रूपमा अनुमोदन गरेको छ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको २०२३ फिफा महिला विश्वकपले प्रतियोगितामा दर्शकको उपस्थितिको रेकर्ड बनाएको थियो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यसलाई अहिलेसम्मकै उत्कृष्ट महिला विश्वकपका रूपमा वर्णन गरेका थिए।

सन् २०२६ मा १२ टिमकोे महिला एसियाली कपका खेलहरू न्यु साउथ वेल्स (एनएसडब्लु,) क्विन्सल्यान्ड र पश्चिमी अस्ट्रेलिया (डब्लुए) राज्यमा हुनेछन्। सिड्नीको स्टेडियम अस्ट्रेलियामा सेमिफाइनल र फाइनल खेल हुनेछन्।

अस्ट्रेलियाले अन्तिम पटक सन् २००६ मा महिला एसियाली कपको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा राष्ट्रिय महिला टोली माटिल्डा पहिलो पटक फाइनलमा पुगेको थियो तर पेनाल्टीमा चीनसँग पराजित भएको थियो।

अस्ट्रेलियाले सन् २०१० मा पहिलो पटक प्रतियोगिता जितेको थियो भने सन् २०१४ र २०१८ मा पुनः फाइनलमा पुग्दा पनि दुवै अवसरमा जापानसँग पराजित भएको थियो।