काठमाडौँको बत्तीसपुतलीमा छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौँको बत्तीसपुतलीमा छुरा प्रहार गरी एक युवकको हत्या


काठमाडौं ।

काठमाडौंको बत्तीसपुतलीमा शनिवार सम्साँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ।

शनिवार साँझ करिब ७ः५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन–चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो। घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो।

छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८ः४० बजे अस्पतालमै निधन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसएसपी मैनालीले भने, ‘अहिले हत्यामा उनीहरुको संलग्नताको विषय पुष्टि भइसकेको छैन। नाम खुलाउन मिल्दैन।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।