अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्सको ‘भिक्टोरिया फ्याम ट्रीप’ सम्पन्न

अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्सको ‘भिक्टोरिया फ्याम ट्रीप’ सम्पन्न


मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्स एकाले “भिक्टोरिया फ्याम ट्रीप” सम्पन्न भएको जनाएको छ । मे १ तारिखदेखि चार दिनसम्म चलेको यो भ्रमणमा ५५ जना सहभागी थिए । एकाका सदस्यहरुबीच सौहाद्र्र वातावरण निर्माण र राज्यको शिक्षासँग सम्बन्धित निकाय तथा युनिभर्सिटीहरुको भ्रमण कार्यक्रमको उद्देश्य थियो ।

उक्त अवसरमा विभिन्न शैक्षिक संस्थाहरुमा जानकारीमूलक बैठकहरु सम्पन्न भएका थिए । भ्रमणको सुरुवात स्टडी भिक्टोरियासँगको बैठकबाट भएको थियो । बैठकमा शैक्षिक क्षेत्रमा राज्यको अवधारणा लगायतमा छलफल भएको थियो । यस लगत्तै टोरेन्स युनिभर्सिटीको क्याम्पस टूर भएको थियो ।

दोश्रो दिन सहभागीहरुले भिक्टोरिया युनिभर्सिटीको भ्रमण गरेका थिए । उक्त अवसरमा विभिन्न संकायका प्रमुखहरुले सहभागीलाई विश्वविद्यालयले दिने शिक्षा र त्यसको गुणस्तरका बारेमा जानकारी दिएका थिए । यस्तै विश्वविद्यालयको खेल विज्ञान अनुसन्धान केन्द्रको भ्रमणका क्रममा नयाँ परीक्षण गरिएका सामग्रीहरु प्रदर्शन गरिएको थियो । अपरान्ह अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको भ्रमणमा सहभागीहरुले विश्वविद्यालयको अवलोकन गरेका थिए । विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुका लागि उपलब्ध सेवा र सुविधाका विषयमा जानकारी दिएका थिए ।

साँझ संस्थाका अध्यक्ष रामचन्द्र पौडेलको आयोजनामा भ्रमणमा सहभागीहरुको सम्मानमा रात्रीभोजको आयोजना गरिएको थियो । सहभागीहरुले प्रेसिडेन्ट डिनरले एकआपसमा मिलजुल गर्न थप मद्दत गरेको प्रतिक्रिया दिएका थिए । उक्त अवसरमा एनआरएन भिक्टोरियाका संयोजक मनिरत्न सापकोटा, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा लगायत सहभागी भएका थिए ।

भ्रमणको अन्तिम दिन विहान गोर्डन टेफमा कार्यक्रम राखिएको थियो । उक्त अवसरमा सहभागीहरुले क्याम्पसको अवलोकन भ्रमण गर्नुका साथै छोटा प्रस्तुतिमा सहभागिता जनाएका थिए । यसपछि सबै सहभागी मेलबर्नबाट डेढ सय किलोमिटर टाढा अवस्थित होम्सग्लेन रिसोर्टमा आयोजित कार्यक्रममा सहभागी भए । उक्त अवसरमा संस्थाका पूर्वअध्यक्षहरुले सहभागीहरुलाई संस्था स्थापनाको उद्देश्य र भइरहेका गतिविधिको विषयमा आफ्नो धारणा सुनाएका थिए । संस्थापक अध्यक्ष विवेक थापा, पूर्वअध्यक्ष निरज श्रेष्ठले अष्ट्रेलियाको शिक्षा र अध्यागमन नीतिका विषयमा आफ्नो भनाई राखे । यस्तै अन्य सहभागीहरुले यस किसिमको भ्रमणले सदस्यहरुकाबीचमा आपसी भाईचारा बढाउनुका साथै क्षमता अभिबृद्धिमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए । चार दिने कार्यक्रमको मे ४ तारिख मेलबर्न शहरको भ्रमण गर्दै सम्पन्न भएको थियो ।