जसपा विभाजनविरुद्ध उपेन्द्र यादव अदालत जाने, कार्यकारिणी समिति बैठक आज

जसपा विभाजनविरुद्ध उपेन्द्र यादव अदालत जाने, कार्यकारिणी समिति बैठक आज


काठमाडौं ।

पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अदालत जाने भएका छन्। त्यसबारे छलफल र निर्णय गर्न बुधबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र त्यसपछि अदालत जाने तयारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

उनका अनुसार बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरिएको छ। ‘आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ, बैठकपछि पत्रकार सम्मेलनमा राखेका छौँ,’ उनले भने, ‘हामीले आफ्ना कुरा त्यहीबाट राख्छौँ। तर हामी अदालत जाने तयारीमा छौँ ।’ उनका अनुसार विहान बैठक बस्ने र साढे ११ बजेपछि पत्रकार सम्मेलनबाट धारणा सार्वजनिक गर्ने कार्यक्रम छ।

पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा सात जना सांसदहरुले नयाँ पार्टी स्थापना गरेका छन्। उनीहरुको निवेदनउपर कारबाही गर्दै निर्वाचन आयोगले सोमबार नै पार्टी दर्ताको निर्णय गरिसकेको छ। तर यादव पक्षले भने संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै विभाजन षड्यन्त्रपूर्ण तरिकाले गराइएको आरोप लगाएको छ।