मेलबर्नको पुरानो शहर बालाराटमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई कानूनी परामर्श

मेलबर्नको पुरानो शहर बालाराटमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई कानूनी परामर्श


मेलबर्न, अष्ट्रेलिया ।

बालाराट नेपाली समाज र गोथाने लयर्सको आयोजनामा बालाराटमा एक कानूनी परामर्श कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित कार्यक्रममा समूदायका अगुवाहरु पनि सहभागी भएका थिए। कार्यक्रममा सहभागी हन गोथाने लयर्सका प्रिन्सिपल टोनु घोताने, माधव खरेल र अजय शर्माले उपस्थितहरुको विभिन्न जिज्ञासाको जवाफ दिएका थिए।

केविसीखबरसँग कुरा गर्दै कानून व्यवसायी एवं समाजसेवी टोनु घोतानेले आफुहरुले सबैलाई काम लाग्ने विषयवस्तुमा सामान्य जानकारी दिएको र थप परामर्श आवश्यक भएमा उहाँहरुलाई एक्लाएक्लै समेत सहयोग गर्न तयार रहेको बताए। कार्यक्रममा सहभागी हुन २५ भन्दा बढी विद्यार्थी भेला भएका थिए।

मुख्यत विद्यार्थीहरुले भिसा सम्बन्धी कानूनी पाटो, सडक दुर्घटना, बीमा सुरक्षा लगायतका विषयमा आफ्नो जिज्ञासा राखेका थिए। गोथाने लयर्सले आफ्नो कम्युनिटी डिस्कभरी टुर २०२४ अन्तर्गत बालाराट नेपाली समाजको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो। यस्तै परामर्श अन्य विभिन्न ठाउँहरुमा पनि गर्ने योजना रहेको उनले जानकारी दिए।

कार्यक्रमको संयोजक एवं बालाराट नेपाली समाजकी अध्यक्ष अभिलाषा शर्माले केविसीखबरसँग भनिन् नेपालीमूलका विद्यार्थीहरुलाई कतिपय भाषिक कारणले पनि आफ्ना समस्या खुलस्त राख्न समस्या परिरहेको हुनसक्छ। यसैलाई मध्यनजर गरेर कार्यक्रम गरेका थियौं जुन धेरै नै उपलब्धीमूलक भयो।

गोथाने लयर्सको तर्फबाट समूदायको लागि यत्ति गर्नु साह्रै प्रशंसनीय छ। उनले भनिन् अलिकति मेलबर्नबाट टाढा छौं धेरै गइरहन परामर्श गरिरहन सम्भव हुन्न त्यसैले यहाँ रहने अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपाली कानून व्यवसायीसँग जोड्ने प्रयास भयो।

बालाराट नेपाली समाज सन् २०२३ मा गठन भएको थियो। यसअघि समाजले ट्याक्स लगायतका समस्यामा कसरी अघि बढ्ने भन्ने विषय समेटेर कार्यक्रम गरेको थियो।