नेपालीमूलका ५० भन्दा बढी अष्ट्रेलियन एजुकेसन कन्सलट्यान्टहरु मेलबर्नमा के गर्दैछन् ?

नेपालीमूलका ५० भन्दा बढी अष्ट्रेलियन एजुकेसन कन्सलट्यान्टहरु मेलबर्नमा के गर्दैछन् ?


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियन एजुकेसन कन्सल्ट्यान्ट एलाइन्स (एक्का) का ५० भन्दा बढी सदस्यहरु यतिबेला मेलबर्नमा छन् । विभिन्न विश्वविद्यालय र शिक्षासँग सम्बन्धित भिक्टोरियाका सरकारी निकायहरुसँगको अन्तरक्रिया र भेटघाटका लागि उनीहरु आएका हुन्।

अष्ट्रेलियामा नेपालीमूलका शिक्षा सेवा प्रदायकहरुको संस्था एक्काले फाम ट्रिप २०२४ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। तीन दिने भ्रमणको क्रममा पहिलो दिन बुधबार र बिहीबार स्टडी मेलबर्न, भिक्टोरिया युनिभर्सिटी, टोरेन्स युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा भ्रमण गरेका छन्।

केविसीखबरसँग कुरा गर्दै एक्काका अध्यक्ष रामचन्द्र पौडेलले कार्यक्रमले सदस्यहरुबीचको हार्दिकतामा बृद्धि गर्नुका साथै मेलबर्नमा रहेका विभिन्न ठूला युनिभर्सिटी, टेफ र सरकारी निकायका अधिकारीहरुसँगको अन्तरक्रियाको माध्यमबाट ति संस्थाहरुसँगको सम्बन्धलाई नयाँ उचाईमा लैजान सहयोग पुगेको धाणा राखे। शुक्रबार संस्थाका पदाधिकारीहरु होम्सग्लेन रिसोर्ट एलिडनमा बस्ने र फर्कदा टेफ जीलोंगका पदाधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेकाे छ।

भेटका क्रममा हालै शैक्षिक क्षेत्रमा आएको परिवर्तन, यसले नेपाल लगायतका विद्यार्थीहरुमा पार्ने असर, विश्वविद्यालयहरुले विद्यार्थीलाई उपलब्ध गराउने सेवा, सुविधा र नयाँ विषयको पढाई लगायतका विषयमा कुराकानी भएको बताइएको छ। उक्त क्रममा सहभागीहरुले आफ्नो जिज्ञासा राखेका थिए।

कार्यक्रममा सहभागीहरुले शैक्षिक संस्थाहरुसँगको अन्तरक्रियासँगै आफ्नै शैक्षिक परामर्शको क्षेत्रमा काम गरेका साथीभाईसँगको सम्बन्ध अझ प्रगाढ बनाउन यसले सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। यसअघि अन्य राज्यमा पनि एकाले त्यहाँको सरकारी अधिकारीहरु र शैक्षिक संस्थाहरुसँगको अन्तरक्रिया सम्पन्न गरिसकेको छ।

संयोजक हिरा कँडेलले सहभागीलाई धन्यवाद दिँदै आगामी दिनमा अझ बृहत् बनाउँदै जाने बताएका छन्।