अस्ट्रेलिया महिलाविरूद्धका हिंसात्मक गतिविधि नियन्त्रणका लागि प्रतिबद्ध

अस्ट्रेलिया महिलाविरूद्धका हिंसात्मक गतिविधि नियन्त्रणका लागि प्रतिबद्ध


मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले महिलाहरूलाई हिंसात्मक सम्बन्ध छोड्न मद्दत गर्नको लागि नयाँ कोषको घोषणा गरेका छन्। लैङ्गिक हिंसालाई सम्बोधन गर्न सङ्घीय, तथा क्षेत्रीय नेताहरूको आपतकालीन बैठकपछि, अल्बनिजले हिंसात्मक सम्बन्ध छोड्न सघाउने कार्यक्रम स्थापना गर्न पाँच बर्षमा नौ करोड २५ लाख अष्ट्रेलियाली डलरको घोषणा गरेका हुन्।

लैङ्गिक हिंसा अन्त्य गर्न माग गर्दै हजारौँ अस्ट्रेलियालीहरूले गरेको प्रदर्शनमा अल्बानीजले क्यानबेरामा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै महिलाविरुद्धको हिंसालाई राष्ट्रिय सङ्कटको रूपमा वर्णन गरे।

राष्ट्रिय न्यायका लागि क्रियाशिल समूह ‘डिस्ट्रोय द जोइन्ट’का अनुसार अस्ट्रेलियामा सन् २०२३ को पहिलो चार महिनामा १२ जनाको मृत्यु भएकोमा सन् २०२४ मा यो सङ्ख्या २८ पुगेको छ।

यसअघि बुधबार नै एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री अल्बानिजले महिला र बालबालिकाविरुद्धको हिंसाको रातारात समाधान हुन नसक्ने हृदयविदारक वास्तविकता भएको बताउनुभएको छ। उनले यो घोषणाले कम महिलाहरूले हिंसात्मक सम्बन्धमा फसेको महसुस गर्ने हाम्रो प्रयासलाई सहयोग गर्ने उल्लेख गरे।

बुधबारको बैठकमा नेताहरूले डिजिटल समस्या नक्कली पोर्नोग्राफीको सिर्जना र वितरणमा प्रतिबन्धसहित अनलाइन समस्या सम्बोधन गर्न नयाँ उपायहरू कार्यान्वयन गर्न सहमत भएका छन्।

“डिजिटल सामग्री महिला तथा केटीविरुद्धको दुव्र्यवहारको हानिकारक रूप भएकाले पीडितहरूलाई गहिरो हानि पुर्याउने महान्यायाधिवक्ता मार्क ड्रेफसद्वारा जारी अर्को छुट्टै एक विज्ञप्तिमा भनिएको छ।