रारामा एक्सपर्ट ग्रुपले एक अर्ब १० करोडको लगानीमा ‘लक्जरी रिसोर्ट’ बनाउँदै

रारामा एक्सपर्ट ग्रुपले एक अर्ब १० करोडको लगानीमा ‘लक्जरी रिसोर्ट’ बनाउँदै


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले रारामा सुविधासम्पन्न रिसोर्ट बनाउने भएको छ। एक्सपर्टले १ अर्ब १० करोडको लगानीमा नेपालको उत्कृष्ट पर्यकटीय गन्तव्य रारा तालमा सुविधा सम्पन्न रिसोर्ट बनाउन लागेको हो।

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको छ। लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड बराबर लगानी गरिने शाहले जानकारी दिए।

डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।