क्वीन्सल्याण्डमा ‘वाक फर कम्युनिटी सेन्टर’ सम्पन्न, पाँच हजार डलर संकलन

क्वीन्सल्याण्डमा ‘वाक फर कम्युनिटी सेन्टर’ सम्पन्न, पाँच हजार डलर संकलन


ब्रिजबेन, अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्वीन्सल्याण्डले आयोजना गरेको  ‘वाक फर कम्युनिटी सेन्टर’ नामक कार्यक्रमबाट पाँच हजार अष्ट्रेलियन डलर संकलन भएको छ। क्विन्सल्याण्डमा निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) को आर्थिक सहयोगका लागि आयोजना गरिएको उक्त कार्यक्रमबाट पाँच हजार संकलन भएको हो। 

स्पोन्सर र सहभागीबाट संकलित उक्त रकम एनआरएन अष्ट्रेलियाका महासचिव सन्तोष कुँवरको रोहबरमा एनआरएन क्वीन्सल्याण्डका संयोजक तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाईसीले क्वीएनसीसीका अध्यक्ष केशव शर्मालाई हस्तान्तरण गरेका छन्। 

‘समुदायको लागि एक दिन’ भन्ने नारा दिएको उक्त कार्यक्रममा एनआरएनए क्वीन्सल्याण्ड वुमेन कोर्डिनेटर पारो सापकोटा क्वीन्सल्याण्डमा बसोबास गर्ने नेपालीवासी तथा समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बालबालिकादेखि नेपालबाट आएका अभिभावक पनि सहभागी भएको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष गाईसीले जानकारी दिए। 

प्रतिव्यक्ति २५ अष्ट्रेलियन डलर शुल्क तोकिएको उक्त कार्यक्रममा एक सयभन्दा बढीको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तमा सहभागीलाई ब्रेक फास्टको व्यवस्था पनि गरिएको थियो। नेपालबाट आएका अभिभावक र बालबालिकालाई भने निःशुल्क सहभागी गराइएको थियो। 

रकम हस्तान्तरण समारोहमा एनआरएन अष्ट्रेलियाका महासचिव सन्तोष कुँवर, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाईसी, क्वीएनसीसीका अध्यक्ष केशव शर्मा, एनएक्वीका अध्यक्ष हेमांग शार्मालगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन एनआरएनए क्वीन्सल्याण्डका सचिव श्याम बस्नेतले गरेका थिए। 

हिड्नुभन्दा अगाढी वामअप गराउने कार्य चाही एनआरएनए क्वीन्सल्याण्डका सदस्य मार्क अर्यालले गरेका थिए। 

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले क्वीएनसीसीको अब बन्ने संरचनाका बारेमा प्रकाश पारेका थिए। क्वीएनसीसीका इन्जिनेरिङ र प्राविधिक कामहरु भइराखेकोले पाइप लाइनमा भएका सदस्यहरुलाई बाकी रकम उपलब्ध गराउन अध्यक्ष शर्माले अनुरोध गरे। उनले पहिलो चरणमा शिवालयसहितको मन्दिर, स्तुपा, किचन, शौचालय र कार पार्किङको निर्माण गर्ने गरी काम भइरहेको बताए। उनले यी सबै कार्यका लागि क्वीन्सल्याण्डवासी नेपालीहरुको थप साथ र सहयोगको अपेक्षाा गरेको बताए। उनले क्वीएनसीसीका लागि ‘वाक फर कम्युनिटी सेन्टर’ कार्यक्रमका आयोजना गरेकोमा एनआरएनए क्वीन्सल्याण्डलाई धन्यवाद दिएका थिए। 

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष गाईसीले कार्यक्रममा सहभागी सबैलाई आभार प्रकट गर्दै उनले कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। यो एनआरएनए क्वीन्सल्याण्डको सिग्नेचर प्रोग्राम हो।