एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियाको सामना गर्दै

एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियाको सामना गर्दै


काठमाडौं ।

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ। एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको नेपाल आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ।

नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समय अनुसार मध्यान्ह्र पौने १२ बजेदेखि अल अमरेत क्रिकेट ग्राउन्ड–१ मा हुनेछ। ओमानमा जारी प्रदर्शनमा अपराजित रहँदै नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ यसअघि नै सेमिफाइनलमा पुगी सकेको छ।

साउदी अरेबिया र नेपालको जारी प्रतियोगितामा पहिलो भेट हुँदैछ। ३ खेल खेलेको साउदीले २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ। नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना भने कायमै रहेको छ।

जारी प्रिमियर कपमा नेपालले समूहको बलियो विपक्षी हङकङलाई हराउँदै सुधारिएको खेल देखाएको छ। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो।