२८ वर्षदेखि भन्सालीको फोन पर्खेकी मनिषा

२८ वर्षदेखि भन्सालीको फोन पर्खेकी मनिषा


मुम्बई ।

बलिउड निर्देशक सञ्जय लीला भन्सालीको प्रतिक्षित सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिज भइसकेको छ। शाही महलदेखि सुरु भएर क्रान्तिसम्मको कथा बोल्ने ‘हीरामण्डीः द डायमण्ड बाजार’मा अभिनेत्री मनिषा कोइरालाको अभिनय पनि उत्कृष्ट छ।

९० दशककी लोकप्रिय अभिनेत्रीमध्ये एक मनिषाले निर्देशक भन्सालीसँग २८ वर्षपछि पुनः सहकार्य गरेकी हुन्। उनले सन् १९९६ मा रिलिज भन्सालीको म्यूजिकल फिल्म ‘खामोशी द म्यूजिकल’मा अभिनय गरेकी थिइन्। यो फिल्म भन्सालीको डेब्यू फिल्म थियो। फिल्म फ्लप भयो तर भन्सालीको कामको सबैले सराहना गरेका थिए।

‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिजमा मनीषाले झण्डै तीन दशकपछि दिग्गज निर्देशकसँग काम गर्न पाउँदाको खुशी साटिन्। ‘मैले २८ वर्षसम्म सञ्जयको फोन पर्खिएँ र यो नै खुशीको कुरा हो। यस्ता प्रतिभावानसँग काम गर्न पाउनु सम्मानको कुरा हो। निकै धेरै मेहनत, प्रेम र मायाले हामीले ‘हीरामण्डी’ बनाएका छौं। आशा गर्छौ कि तपाईं सबैलाई यो मनपर्छ। हामीले पहिलोपटक यसलाई हेरेका छौं’, मनीषाले भनेकी छन्।

भन्साली र नेटफ्लिक्सले ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक गरेका छन्। प्रेम, त्याग र स्वतन्त्रताको द्वन्द्व देखाउने ‘हीरामण्डी’मा सबै कलाकार देखिएका छन्। सिरिजमा मनीषाका अलावा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, सन्जीदा शेख, ऋचा चढ्ढा, शर्मिन सहगल, शेखर सुमन, ताहा शाह र अध्ययन सुमन प्रमुख भूमिकामा छन्। सिरिज मे १ मा नेटफ्लिक्समा रिलिज हुनेछ।