‘नो इन्ट्री २’का कारण बोनी र अनिलबीच खटपट

‘नो इन्ट्री २’का कारण बोनी र अनिलबीच खटपट


मुम्बई ।

बलिउड अभिनेता अनिल कपूर फिल्म निर्माता ठूलो दाई बोनी कपूरसँग निकै नजिक छन्। फिल्म उद्योगमा यी दाजुभाईको प्रेमलाई उदाहरणका रुपमा लिइन्छ।

हालैमात्र निर्माता बोनीले भाई अनिलसँग केही समययता सम्बन्ध राम्रो नरहेको खुलासा गरेका छन्। उनले भाई अनिल आफूसँग फिल्म ‘नो इन्ट्री २’का कारण दुःखी रहेको खुलासा गरेका हुन् । त्यहीकारण पनि लामो समयसम्म उनीहरुबीच कुराकानी हुन नसकेको बोनीले खुलाएका छन्।

अनिल फिल्मको पहिलो भाग ‘नो इन्ट्री’का हिस्सा थिए। तर उनी यसको दोस्रो भागको हिस्सा छैनन्। ‘अनिलले नो इन्ट्री २ को कथामा आफू नरहेको थाहा पाएपछि मसँग निकै रिसाएको छ। मलाई थाहा छ ऊ यो सिक्वेलको हिस्सा बन्न चाहन्छ। तर उसका लागि यो कथामा स्थान छैन। म यो कुरा उसलाई भन्न चाहन्थें। सम्झाउन चाहन्थें। तर मेरो भाई आजसम्म मसँग राम्ररी बोल्न मानेकै छैन। म आशा गर्छु कि यी कुरा चाँडै ठिक हुनेछन्’, बोनीले भनेका छन्।

फिल्म ‘नो इन्ट्री २’मा बोनी कपूरले युवापुस्तालाई स्थान दिएका छन्। फिल्ममा वरुण धवन, अर्जुन कपूर र दिलजीत दोसाँझको अभिनय छ। तर यो कुरा अनिललाई मनपरेको छैन। यहीकारण बोनी र अनिलबीच सम्बन्धमा खटपट छ।