बार्सिलोना युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा प्रवेश

बार्सिलोना युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा प्रवेश


काठमाडौं ।

स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब नापोलीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बार्सिलोना सन् २०२० पछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो। पहिलो लेग एक(एक गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा ३–१ को जित निकालेपछि समग्रमा ४–२ को नतिजाका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो।

बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो। मंगलबार राति बार्सिलोनालाई जिताउन फर्मिन लोपज, जोआओ क्यान्सेलो र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे। यस्तै, नापोलीका लागि अमिर रहमानीले एक गोल फर्काए।

१५औं मिनेटमा राफिन्हाको पासमा फर्मिन लोपेजले गोल गर्र्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसको १७ औं मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

तर, नापोलीले ३० औं मिनेटमा गोल फर्काउँदै अन्तर कम गरेको थियो। नापोलीका लागि अमिर रहमानीले गोल फर्काएका थिए। २–१ ले अगाडि रहेको बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ८४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३(१ को जित दिलाए। च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ।