पुजार सार्की’को मैतबहादुर लुक्समा प्रदीप

पुजार सार्की’को मैतबहादुर लुक्समा प्रदीप


काठमाडौं ।

अभिनेता प्रदीप खड्काको आइतबार परेको जन्मदिनको अवसर पारेर फिल्म ‘पुजार सार्की’मा रहेको उनको ‘मैतबहादुर’ लुक्स सार्वजनिक गरिएको छ।

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत फिल्म हाल छायांकन भइरहेको छ। निर्देशक दिनेश राउतले प्रदीपको चरित्र ‘मैतबहादुर’ झल्किने दुई तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

तस्वीरमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन्।

निर्देशक राउतले फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा संघर्षको कथालाई उठान गरेको जनाउँदै त्यही कथाको एक पात्र प्रदीप रहेको बताए। फिल्मका लेखक विकास सुवेदी हुन्।

फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ।