रङ्गेली’ का प्रवीण : चौथो काल, मानबहादुर ढकाल

रङ्गेली’ का प्रवीण : चौथो काल, मानबहादुर ढकाल


काठमाडौं ।

अभिनेता प्रवीण खतिवडा यही शुक्रवार रिलिज हुने फिल्म ‘रङ्गेली’ मा मानबहादुर ढकाल नामको प्रहरी अफिसरको भूमिकामा देखिँदैछन्। फिल्मको ट्रेलरमा उनले बोलेको ‘चौथो काल, मानबहादुर ढकाल’ संवादलाई दर्शकले निकै मनपराइरहेका छन्।

प्रवीणका अनुसार फिल्ममा उनी अनुशासनमा नबस्ने प्रहरी अफिसर हुन्। ‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु। मेरो चरित्रले घुस खानेदेखि लिएर आफूलाई फिल्मी शैलीमा प्रस्तुत गरिरहेको हुन्छ। रङ्गेलीमा तडकभडक भइरहेको समयमा त्यसलाई नियन्त्रण गर्न म सक्रिय हुन्छु’, उनी भन्छन्।

फिल्ममा तडकभडकको माहोललाई आफ्नो हातमा लिन अथवा त्यसलाई समाधान गर्न उनले राम्रै चलखेल गर्दा रहेछन्। ‘पात्रलाई घुमाउने, कसलाई ठोक्ने, कसलाई जोगाउने भन्ने निर्णय मेरो हातमा हुन्छ’, उनी भन्छन्।

प्रवीणले प्रहरी अफिसरको चरित्र निभाइरहँदा त्यो चरित्र निभाउनु अघि त्यसमा देखिएका राजनीतिक रुपमा गलत कुराहरूलाई कसरी ‘डिल’ गर्ने भनेर अन्य कलाकार र निर्देशकसँग छलफल पनि गरेका रहेछन्।

वास्तविक जीवनमा प्रवीण प्रहरीको चरित्र राम्रो हुनुपर्छ भन्ने पक्षधर हुन्। ‘म सधैं प्रहरीले इमान्दार भएर कानूनको रक्षा गर्नुपर्छ र यदि कोही रक्षक पनि भक्षक बन्दैछन् भने त्यसलाई कानूनी दायराभित्र ल्याउनुपर्छ भन्ने मान्यता राख्छु । तर चरित्र निभाइरहँदा यी कुरा सम्भव हुँदैन रहेछ’, प्रवीण भन्छन्।

उनले प्रहरी चरित्र निभाइरहँदा प्रहरीलाई राजनीतिभन्दा अलग राखेर ‘ट्रिट’ गर्ने राम्रो व्यवस्थापन भएमा कानुनको रक्षा हुने बुझेका रहेछन्। ‘यदि राजनीतिक रूपमा प्रहरीलाई चलाउन थाल्ने हो भनेदेखि यस्ता खालका घटनाहरू समाजमा अझ बढ्नेछन् भन्ने अनुभव भयो’, प्रवीणले भने।

प्रवीण आफ्नो चरित्रले दर्शकलाई जोड्ने कुरामा ढुक्क छन्। ‘फिल्ममा मेरो चरित्र हेरिरहँदा दर्शकले वास्तविक जीवनमा यस्तै खालको प्रहरी भेटेका थियौँ अथवा ओहो यस्तै खालको आयो भने के हुने हो भन्ने कुरा बोल्न सक्छन्। उनीहरुमा ‘त्यो अगाडिको प्रहरी यस्तै थियो’ भन्ने जस्तो पनि लाग्छ। दर्शकले फिल्ममा दोहोरो कनेक्सन भेट्नुहुन्छु’, प्रवीण खुल्छन्।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ।