पप आइकन ब्रिटनी स्पेयर्स संगीतबाट अलग !

पप आइकन ब्रिटनी स्पेयर्स संगीतबाट अलग !


लसएन्जल्स।

अमेरिकी गायिका एवम पप आइकन ब्रिटनी स्पेयर्सले इन्स्टाग्राम र संगीतबाट अलग हुने घोषणा गरेकी छन्। उनको प्रख्यात गीत ‘टक्सिक’ले २० वर्ष पूरा गरेको अवसरमा उनले यस्तो घोषणा गरेकी हुन्।

४२ वर्षीया ब्रिटनीले यस्तो घोषणा गरेको केही दिनपछि नै उनले सामाजिक सञ्जालहरुमारहेका आफ्नो एकाउण्ट हटाएकी छन्। उनले आफूले पुनः संगीत सिर्जना नगर्ने र सदाका लागि संगीत उद्योग छाडेको बताएकी हुन्।

ब्रिटनीका ४३ मिलियन फलोअर्स छन्। ब्रिटनीको यस्तो घोषणाले उनका शुभेच्छुकहरुले निराश भएको प्रतिक्रिया दिएका छन्। उनले संजालबाट हटाएको एक पोस्टमा संगीत सिर्जनाका लागि रेकर्डिङ स्टुडियोमा आफू नफकर्ने खुलासा गरेकी थिइन्। उनले आफू पर्दा पछाडि रहेर काम गर्न र अन्य कलाकारका लागि गीत लेख्नमा नै खुशी रहेको उल्लेख गरेकी थिइन्।

‘जब म लेख्छु, त्यो केवल मनोरञ्जनका लागि लेख्छु या अन्य मानिसका लागि लेख्छु। मैंले पछिल्लो दुई वर्षमा अन्य मानिसका लागि २० भन्दा बढी गीत लेखें। म एक घोस्ट राइटर हुँ र म इमान्दारीपूर्वक यसमा आनन्द लिन्छु’, ब्रिटनीले भनेकी छन्।

केही समय अघि ब्रिटनीले चाली एक्ससीएक्स र जुलया माइकल्ससँग सहकार्य गर्दै नयाँ एल्बमको तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो। तर दुई बच्चाकी आमा ब्रिटनीले यो समाचारलाई ‘बकवास’ भन्दै खण्डन गरेकी थिइन्।

सन् २०२१ मा पिताको संरक्षकत्वबाट स्वतन्त्र भएकी ब्रिटनीले त्यही बेला संगीत उद्योग छाड्ने प्रतिक्रिया दिएकी थिइन्। पछिल्लो समय एल्टन जोनको सहयोगले ट्रयाक ‘होल्ड मी क्लोजर’ जारी गरेकी थिइन्। तर त्यसपछि भने उनले अहिलेसम्म कुनै नयाँ संगीत रेकर्ड गराएकी छैनन्। उनको पछिल्लो एल्बम ‘ग्लोरी’ सन् २०१६ मा रिलिज भएको थियो।