ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको उपाधि ग्लोबल इन्टरफेसले जित्यो

ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको उपाधि ग्लोबल इन्टरफेसले जित्यो


मेलबर्न अष्ट्रेलिया ।

भिक्टोरियामा जारी ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको उपाधि ग्लोबल इन्टरफेस क्रिकेट क्लबले जितेको थियो। आज टिडब्लु ब्लेक पार्क प्रेस्टन क्रिकेट मैदानमा भएको फाइनल खेलमा फारवेस्ट हन्टर्स क्रिकेट क्लबलाई १४ रनले पराजित गर्दै ग्लोबल इन्टरफेसले उपाधि कब्जा गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको ग्लोबल इन्टरफेस क्रिकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षेतीमा १४० रन बनाएको थियो। जितका लागि १४१ रनको लक्ष्य पाएको फायरवस्ट हन्टर्सले १९।१ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।

ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको विजेता बनेको ग्लोबल इन्टरफेस क्रिकेट क्लबले तीन हजार पाँच सय अष्ट्रेलियन डलर, नगद मेडल र प्रमाणपत्र पाएको छ। उक्त प्रतियोगितामा दोस्रो भएको फारवेस्ट हन्टर्स क्रिकेट क्लबले एक हजार पाँच सय अष्ट्रेलियन डलर नगद मेडल र प्रमाणपत्र पाएको ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगका संयोजक सुदिप न्यौपानेले केविसीखबरलाई जानकारी दिए।

उक्त प्रतियागिताको उत्कृष्ट खेलाडी एक्सपर्ट सगरमाथा ब्लुजका आशिष जिसी बने भने बेष्ट ब्याटरको अवार्ड पनि जिसीले नै पाएका थिए। किफायती बलर ग्लोबल इन्टरफेस क्लबका किशोर महतो घोषित भएका छन्। उनी नेपाली राष्ट्रिय टिमबाट खेलीसकेका खेलाडी समेत हुन्। उत्कृष्ट फिल्डर एक्सपर्ट सगरमाथा ब्लुजका सुमित चौधरी भए भने बेष्ट किपर ट्राइकन क्रिकेट क्लबका सोभित बास्कोटा घोषित भए। खेलाका उत्कृष्ट खेलाडीले अवार्डसहित नगद दुई सय अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गरेका थिए।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले मुख्य प्रयोजन गरेको ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको आयोजक एक्सपर्ट सगरमाथा ब्लुज रहेको छ। ब्राइटन कलेजले सह–प्रयोजन गरेको लिगमा एक्सपर्ट सगरमाथा ब्लुज, द हिमालयन क्लव, ट्राईकोन, काठमाडौँ क्यापिटल्स, युनाटेड वेरियर्स क्रिकेट क्लव, रोयल राईनोज क्रिकेट क्लब, एभरेस्ट लायोन्स, राईजीं सन, फार वेस्ट्रन सोसाइटी अफ भिक्टोरीया, ग्रेस गोर्खाली, ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लब गरी १२ टिमले सहभागिता जनाएका थिए। लिग अक्टोबर १२ बाट सुरु भएको थियो।

लिगको पहिलो, दोस्रो र उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरणमा समारोहमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस मेलबर्न शाखाका निर्देशक बसन्त पोखरेल, काठमाडौँ प्रोपर्टिजका निर्देशक दिक्पाल देव पंगेनी, नेपाली राष्ट्रिय टिमका खेलाडी कुशल भुर्तेल, न्याभका अध्यक्ष प्रेमराज उप्रेती, न्याभका संस्थापक अध्यक्ष डा राजु अधिकारी, एन्जाका अध्यक्ष चिरञ्जिबिराज देवकोटा, एनआरएनए भिक्टोरियाका प्रतिनिधिहरू लगायत भिक्टोरियाका क्रिकेट खेल प्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

स्वर्गीय ऋचा श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ। नेपाल क्रिकेट संघ (क्यान) का स्वर्गीय उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी ऋचाको ब्लड क्यान्सरका कारण निधन भएको थियो । उनकै नाममा प्रतियोगिता आयोजना हुँदै आएका छन्। यो तेस्रो तेस्रो संस्करणको लिग हो।