शनिबार राति प्रिमियर लिगमा के भयो ?

शनिबार राति प्रिमियर लिगमा के भयो ?


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा न्यूक्यासलले म्यानचेस्टरमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो।

घरेलु मैदानमा न्यूक्यासललाई जिताउनका लागि एन्थोनी गोडोनले ५५ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो। जितसँगै न्यूक्यासल तालिकाको ५ औं स्थानमा उक्लिएको छ। न्यूक्यासलले १४ खेलबाट २६ अंक बनाएको छ। पराजित भएको म्यानचेस्टर युनाइटेडको समानखेलबाट २४ अंक रहित तालिकाको सातौं स्थानमा झरेको छ।

प्रिमियर लिगमा एभर्टनले नटिङघम फरेस्टलाई १–० गोल अन्तरले पराजित गरेको छ। डिओट म्याकनेलले ६७ औं मिनेटमा गरेको गोलले नै एभर्टनलाई जितायो । एभर्टन तालिकाको १८ औं स्थानमा रहँदा नटिङघम फरेस्ट १५ औं स्थानमा छ।

यस्तै पुछारमा रहेका दुई टिम बर्नलेले सेफिल्ड युनाइटेडमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ। बर्नले १९औं तथा सेफिल्ड २० औं स्थानमा रहेका छन्। प्रिमियर लिगमा ब्रेन्टफोर्डले लुटन टाउनमाथि ३–१ गोलको जित दर्ता गरेको छ। जितसँगै ब्रेन्टफोड १९ अंकका साथ १० औं तथा पराजित भएको लुटन भने ९ अंकका साथ १७ औं स्थानमा छ।

यसैगरी आर्सनलले वुल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। आर्सनको १४ खेलबाट ३३ अंक रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलबाट २९ अंक रहेको छ। पराजित भएको वुल्भ्स १३ औं स्थानमा रहेको छ।