काठमाडौँ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ३–० गोलको एकतर्फी जित निकालेको हो।
युनाइटेडलाई जिताउनका लागि एलेजान्ड्रो ग्रान्चोले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले डिएगो डालोटको पासमा गोल गरेका हुन्। पहिलो हाफमा १ गोल गरेको युनाइटेडले दोस्रो हाफमा २ गोल थपेको थियो। ५६ औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमा गोल गरेपछि युनाइटेड २–० ले अघि बढ्यो।
यसैगरी ७५ औं मिनेटमा एन्थोनी मार्सिएलले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेपछि युनाइटेड ३–० को सहज जित निकाल्न सफल भयो। जितपछि युनाइटेड १३ खेलबाट २४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ। पराजित भएको एभर्टन भने पुछारबाट दोस्रो स्थानमा छ।
प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले टोटनह्यामहटस्परमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ। २२ औं मिनेटमा टोटनह्यामले जियोभानी सेल्सोको गोलमा अग्रता लिएको थियो। तर, पहिलो हाफको अतिरिक्त सातौं मिनेटमा फाओ फ्रान्सिस्को टोरेसले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो।
६१ औं मिनेटमा ओले वाटिसनले गोल गरेपछि एस्टन २–१ को जित निकाल्न सफल भयो। जितपछि एस्टन २८ अंकका साथ चौथो स्थानमा उक्लदा टोटनह्याम २६ अंकका साथ पाँचौं स्थानमा झरेको छ। प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार पौने २ बजे फुलह्याम र वुल्भ्स आमने सामने हुने छन्।
प्रतिक्रिया