काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। आर्सनलले १३ खेलमा ३० अंक बनाएको छ। पराजित भएको ब्रेन्टफोर्ड भने १६ अंकका साथ ११ औँ स्थानमा छ।
ब्रेन्टफोर्डमाथि जित निकाल्न आर्सनललाई ८९ औँ मिनेट कुर्नु परेको थियो। आर्सनलका केइ हार्भाटेजले अन्तिम समयमा गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो।
प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले एक एक गोलको बराबरी खेल्दै अंक बाँडे। सिटीले घरलु मैदानमा एर्लिङ हालान्डको गोलबाट २७ औँ मिनेटमा अग्रता लिएको थियो। तर ट्रेन्ट आर्नोल्डले ८० औँ मिनेटमा बराबरी गोल गरेपछि एक अंकमा सिटी चित्त बुझाउन बाध्य भयो शनिबार नै आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गर्दै ३ अंक जोडेपछि सिटी तालिकाको दोस्रो स्थानमा झरेको छ। सिटीको २९ अंक भएको छ भने लिभरपुल २८ अंकका साथ तेस्रो स्थानमा छ।
यसैगरी अन्य खेलमा र्बनले वेस्टह्याम युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको छ भने न्यूक्यासलले चेल्सीमाथि ४–१ को रवाफिलो जित दर्ता गर्न सफल भएको छ। ब्राइटनल नटिङघम फरेस्टलाई ३–२ ले स्तब्ध बनाउँदा बर्नमाउथले सेफिल्ड युनाइटेडलाई ३–१ ले पराजित गरेको थियो।
प्रिमियर लिग अन्तर्गत आइतबार २ वटा खेल हुने छन्। नेपाली समय अनसार राति पौने ८ बजे टोटनह्याम र एस्टोन भिल्ला आमने सामने हुँदा राति सवा १० बजे एभर्टन र म्यानचेस्टर युनाइटेड भिड्ने छन्।
प्रतिक्रिया