काठमाडौं ।
भारतले पहिलो टी–२० खेलमा अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ। यस खेलमा रिंकु सिंहले उत्कृष्ट प्रदर्शन गरे। भारतका नयाँ कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे जुन गलत साबित भयो।
अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई २०९ रनको कठिन लक्ष्य दिएको थियो। उक्त लक्ष्य भारतले अन्तिम ओभरमा पूरा गर्याे। रिंकु सिंहले छक्का प्रहार गर्दै खेलको अन्त्य गरे। टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो लक्ष्य हासिल गर्दै भारतीय टोलीले नयाँ कीर्तिमान बनाएको छ।
पहिले ब्याटिङको निम्तो पाएपछि अस्ट्रेलियाका ओपनर स्टिभ स्मिथ र म्याथ्यु शर्टले आफ्नो टोलीलाई द्रुत सुरुवात दिँदै पहिलो विकेटका लागि ३१ रन जोडे। म्याथ्यु सर्ट १३ रन बनाएर रवि बिश्नोईको बलमा क्लिन बोल्ड भए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका जोस इंग्लिसले स्मिथसँग १३० रनको विस्फोटक साझेदारी गरे । अर्को छेउमा स्टिभ स्मिथ संघर्षरत देखिए र उनले ४१ बलमा ८ चौका सहित ५२ रनको इनिङ खेले।
जोस इंग्लिसले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक पूरा गरे। जोस इंग्लिसले ५० बलमा ११ चौका र ८ छक्का सहित ११० रन बनाए। भारतका लागि रवि बिश्नोई र प्रसिद्ध कृष्णले १–१ विकेट लिए।
२०९ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो। रुतुराज गायकवाड बल नखेल्दै शून्यमा आउट भए। अर्कोतर्फ यशस्वी जैसवालले तीव्र सुरुवात गरेपनि २१ रनमा म्याथ्यु शर्टको बलमा आफ्नो विकेट गुमाए। २२ रनमा २ विकेट खसेपछि कप्तान सूर्यकुमार यादव र इशान किशनले ११२ रनको धुवाँधार साझेदारी गरेका थिए। इशान किशनले ३९ बलमा २ चौका र ५ छक्का सहित ५८ रनको विस्फोटक इनिङ खेले। मध्यक्रममा तिलक वर्मा १२ रन बनाएर फ्लप भए।
लगातार दुई विकेट खसेपछि सूर्यकुमार यादव र रिंकु सिंहले ४० रनको महत्वपूर्ण साझेदारी गरे। सूर्यकुमार यादवले ४२ बलमा ८० रनको उत्कृष्ट कप्तानी इनिङ खेले। उनले आफ्नो इनिङ्समा ९ चौका र ४ छक्का प्रहार गरे भने रिंकु सिंहले १४ बलमा २२ अविजित रन बनाए र २० औं ओभरको ५ औं बलमा भारतलाई छक्का दिए। तर छक्का नो बलका कारण मान्य भएन। नो बलको रन गणना गरियो र टीम इन्डिया विजयी भयो। अस्ट्रेलियाका तनभिर साघाले २ विकेट लिए। जितसँगै भारतले सिरिजमा १–० को अग्रता लिएको छ।
प्रतिक्रिया