काठमाडौँ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान मार्लोन स्यामुएल्सलाई ६ वर्षको प्रतिबन्ध लगाएको छ। भ्रष्टाचारविरोधी संहिता उल्लंघन गरेको भन्दै सामुएलमाथि प्रतिबन्ध लगाइएको हो । आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमार्फत यो जानकारी दिएको हो।
मार्लोनमाथिको प्रतिबन्ध नोभेम्बर ११ देखि नै सुरु भएको र उनले ६ वर्षको अवधिमा कुनै पनि क्रिकेट खेल्न पाउने छैनन्। मार्लोन स्यामुएल्सलाई एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी संहितासँग सम्बन्धित नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गरिएको छ। आईसीसीको एचआर एण्ड इन्टिग्रिटी युनिटका प्रमुख एलेक्स मार्सनले स्यामुएल्समाथि प्रतिबन्धको घोषणा गरेका हुन्।
स्यामुएलले झण्डै दुई दशकदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। आरोपअनुसार, स्यामुएल्सले २०१९ मा अबु धाबी टी–१० लिगमा भ्रष्टाचार सम्बन्धी नियम तोडेका थिए। यसैलाई ध्यानमा राख्दै आईसीसीले उनीमाथि चारवटा धारा लगाएर कारबाही गरेको हो।
सामुएल्स भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको यो पहिलो पटक भने होइन। यसअघि पनि सन् २००८ मा पनि उनीमाथि पैसा लिएको आरोप लागेको थियो। त्यसबेला पनि दोषी ठहर भई उनले दुई वर्षको प्रतिबन्ध भोगेका थिए।
यसबाहेक सन् २०१५ मा उनको बलिङ एक्सनका कारण एक वर्षको प्रतिबन्ध लागेको थियो। यस पटक सामुएल्सलाई इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिताको धारा २.४.२, २.४.३, २.४.६ र २.४.७ उल्लंघन गरेको आरोपमा दोषी ठहर गरिएको छ। दोषी ठहरिएपछि स्यामुएल्सका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने आएको छैन।
मार्लोन स्यामुअल्स वेस्टइन्डिजले २०१२ र २०१६ को टी–२० विश्वकप जित्दा टोलीमा थिए। यी दुवै फाइनलमा वेस्ट इन्डिजका लागि उनले सर्वाधिक रन पनि बनाएका थिए।
प्रतिक्रिया