काठमाडौँ ।
घरेलु टोली भारतलाई हराउँदै अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को उपाधि जितेको छ। आज नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा भएको फाइनल खेलामा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै छैटौँ पटक विश्व च्याम्पियन बनेको हो।
भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो। पहिलो तीन विकेट ४७ रनमा गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए। ट्राभिसले विश्वकपको फाइनल खेलमा सतकीय पारी खेले। उनले १२० बलमा १३७ रन बनाए। यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए। उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे।
अस्ट्रेलियाले पहिलो विकेटका रुपमा डेभिड वार्नरलाई ७ रन बनाएर आउट भए। उनी मोहम्मद सामीको बलमा विराट कोहलीले क्याच आउट गरेका थिए। यस्तै मिचेल मार्सले पनि अस्ट्रेलियाको योगफलमा केवल १५ रन मात्रै जोड्न सके। उनी जसप्रित बुमराहको बलमा आउट भए। बुमराहले नै स्टिभन स्मिथलाई पनि केवल ४ रनमा पेभेलियनको बाटो देखाएका थिए।
यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनायाे। उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए। साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए। साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ÷नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन्।
अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई–दुई विकेट लिए। साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक–एक विकेट लिए।
फाइनल अष्ट्रेलियाले जितेसंगै यो अष्ट्रेलियाको छैठौ उपाधि भएको छ। अष्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो।
प्रतिक्रिया