विश्वकप क्रिकेटको फाइनल आज, उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्दै

विश्वकप क्रिकेटको फाइनल आज, उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्दै


काठमाडौँ ।

भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ।

उपाधिका लागि आयोजक भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेस सहभागि हुने गुजरात राज्य सरकारले जनाएको छ।

सन् १९७५ बाट सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटको हालसम्म भएका १२ वटा शृङ्खलामा अष्ट्रेलियाले पाँच पटक उपाधि जित्दा भारत र वेष्ट इन्डिजले समान २–२ पटक उपाधि जितेका छन्। यसैगरी इङ्ल्याण्ड, श्रीलंका र पाकिस्तानले समान एक–एक पटक उपाधि जितेका छन्।

यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय ५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ। भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजाविहिन बनेका छन्।

एक दिवसिय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो।