काठमाडौँ । इंग्ल्यान्डले पाकिस्तानलाई पराजित गरेको छ। जारी क्रिकेट विश्वकपको लिग चरणको खेलको अन्तिम खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो।
इंग्ल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३.३ ओभरमा अलआउट हुँदै २४४ रन मात्र बनाएको थियो। यसअघि इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३३७ रन बनाएको थियो।
योसँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ। पाकिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित र ५ हार बेहोरेको छ र अंक तालिकामा पाँचौँ स्थानमा रहँदै विश्वकपको यात्रा टुंगिएको छ।
त्यस्तै इंग्ल्यान्डले यस विश्वकपमा ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर सातौँ स्थानमा रहँदै विश्वकप सकेको छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुग्न नसकेपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफिमा भने आफ्नो स्थान सुरक्षित गरेको छ।
अब सेमिफाइनलमा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको प्रतिस्पर्धा हुने छ। दुवैबीचको सेमिफाइनल खेल आगामी बुधबार मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा बिहीबार हुने छ। दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे हुनेछन्। फाइनल अर्को आइतबार हुनेछ।
प्रतिक्रिया