विश्वकप क्रिकेट : बंगलादेशमाथि अष्ट्रेलियाको शानदार जित

विश्वकप क्रिकेट : बंगलादेशमाथि अष्ट्रेलियाको शानदार जित


काठमाडौँ ।

भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ। आज पुनेमा भएको खेलमा बंगलादेशलाई अष्ट्रेलियाले ८ विकेटले पराजित गरेको हो।

बंगलादेशले दिएको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ३२ बल अघि नै २ विकेट गुमाएर भेट्टायो। उसका लागि मिचेल मार्सले नटआउट १ सय ७७ र स्टेभिन स्मिथले ६३ रन बनाए। डेविड वार्नर ५३ र ट्रेभिस हेड १० रनमा आउट भए।

बंगलादेशका तस्किन अहमद र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए। आजको हारपछि पनि बंगलादेशको शीर्ष आठ भित्र रहेर च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै छ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो। उसका लागि ताहिद ह्रोदीले ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनाए।

बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २–२ विकेट लिए। अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ।

८ खेलबाट १६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ। ९ खेलबाट १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ। ९ खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रोे स्थानमा छ। ९ खेलबाट १० अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ।

पाकिस्तान ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रहेको छ। अफगानिस्तान ९ खेलबाट ८ अंकसहित छैटौँँ स्थानमा रहेको छ।