अष्ट्रेलियामा सुगमको माइक काण्ड, आयोजकले माग्यो माफी

अष्ट्रेलियामा सुगमको माइक काण्ड, आयोजकले माग्यो माफी


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको सांगीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइक प्रहार गरेको घटनामा आयोजकले माफी मागेको छ। शनिबार एडिलेडको एभरेष्ट रेष्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा भएको सांगीतिक कार्यक्रममा गायक पोखरेलले गरेको अमर्यादित हर्कतको चौतर्फी विरोध भएपछि आयोजकले सामाजिक सञ्जालमार्फत माफी मागेको हो। 

आयोजकले उक्त घटनाबाट दुःखित भएको भन्दै विदेशी भूमिमा नेपाली कलाकार र दर्शकको इज्जत गुमाउन नहुने बताएको छ। उक्त घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन कार्यक्रम आयोजकको हैसियतमा थप सजग हुने आयोजकले बताएको छ। उनले आइतबार विहान फेसबुकमा माफी मागेर अपलोड गरेको भिडियो अहिले डिलिट गरेका छन्। उक्त कार्यक्रम गिरीश इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट र यार्सा इभेन्ट एन्ड इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको थियो।

दशैँ तिहार फेस्टिभल नाम दिइएको उक्त कार्यक्रममा गायक पोखरेलले दर्शकलाई माइक प्रहार गरेका थिए। गायक पोखरेलले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएका प्रति एक मिनेट मौन धारण गर्न भनेपछि विवाद सिर्जना भएको थियो। बारम्बार स्टेजबाट गायक पोखरेलको अनुरोध उपस्थित दर्शकले नमानेपछि उनी एक्कासि झोक्किएका थिए। स्टेजबाट तल झरेर गाली गालौज गर्दै फ्यानलाई माइक प्राहर गर्छन्। 

मादक पदार्थ सेवन गरेका गायक पोखरेल असन्तुलित देखिन्छन्। उनलाई आयोजकले सम्हाल्न खोजिरहेको हुन्छन्। आयोजकको सहयोगमा उनी स्टेजमा चढ्छन् र फेरी दर्शकलाई माइक प्रहार गरेकाे भिडियोमा देख्न सकिन्छ। 

गायक पोखरेलले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो अपलोड गर्दै माफी मागेका छन्। गायक पोखरेलले माफी मागे पनि दर्शककै दोष देखाउँदा सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ।

भिडियोमा उनले भनेका छन्,  ‘अहिले भुईँचालोका कारण देशलाई दुखिरहेको छ। नेपाली कलाकार भएको हुँदा देशलाई दुख्दा मलाई पनि दुख्छ। हिजोको कार्यक्रममा मौन धारण गरौँ भन्दा के भयो त्यो तपाईँहरूले भिडिओमा देख्न सक्नुहुन्छ। मेरो क्रियाको प्रतिक्रिया त्यसकै कारणले मात्र थियो। कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु। तर जहिले पनि संगीतको सेवा गर्नेछु।’

शनिवारको घटनाले गायक पोखरेलले गर्ने भनेको लन्चेस्टनको कन्सर्ट पनि अनिश्चित बनेको छ। गायक सुगम पोखरेल अहिले अष्ट्रेलियामा सांगीतिक टुरमा छन् ।