काठमाडौं ।
टी–२० विश्वकप एसिया छनोट खेलमा आज नेपाल र ओमानले सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्दैछन्। नेपाल दोस्रोपटक टी–२० विश्वकप खेल्ने सम्भावनाको नजिक पुगेको छ। शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ।
आज भएको समूह चरणको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत हासिल गर्याे। लगातार दोस्रो जीतपछि नेपालले भोलि ओमानसँग अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनमा स्थान बनाएको हो। नेपालले सेमिफाइनल कोसित खेल्छ भन्ने टुंगो भोलि लाग्नेछ।
नेपालसँगै ओमान पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ। भोलिको खेलले नेपाल र ओमानमा को पहिलो हुने भन्ने निश्चित गर्ने छ। यदि नेपालले ओमानलाई हराउँदै सेमिफाइनलमा पहिलो भयो भने अर्को समूहबाट दोस्रो भएर आउने टीमसँग खेल्नेछ। नेपाल पराजित भएर दोस्रो भयो भने समूह ‘बी’ को पहिलो टीमसँग खेल्नुपर्छ।
समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेत छन्। लगातार दुई जीत हासिल गरेको यूएईले सेमिफाइनलमा स्थान बनाउने लगभग पक्का छ। सेमिफाइनलको दावेदार मानिएको हङकङ बहराइनसँग पराजित भयो भने बहराइन यूएईसँग पराजित भयो। यसले समूहबीचको समीकरण रोचक बनेको छ। अब भोलि यूएई र हङकङ अनि बहराइन र कुवेतबीच खेल हुनेछ।
यूएईले हङकङलाई र बहराइनले कुवेतलाई हराएको खण्डमा बहराइन सेमिफाइनलमा जानेछ । हङकङले यूएईलाई र बहराइनले कुवेतलाई हराएमा रनरेटको आधारमा निर्णय हुन्छ।
यस्तै हङकङले यूएईलाई र कुवेतले बहराइनलाई हराएको खण्डमा हङकङ सेमिफाइनलमा जान्छ । कुवेतको भने सम्भावना अन्त्य भइसकेको छ।
नेपालले यूएईसँग अत्यधिक म्याच खेल्दै आएको छ। पछिल्लो केही वर्षमा नेपाल युएईमाथि हावी भइरहेको थियो । यद्यपि, हालै काठमाडौंमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाललाई हराएकाले यूएईको मनोबल बढेको छ।
बहराइनसँग नेपालले कम खेल खेले पनि तुलनात्मक रुपमा नेपाल बलियो हो। यद्यपि, विश्वकपको लागि निर्णायक म्याच भएको खेलाडीहरु दबाबमा हुनेछन् । खासमा यो प्रतियोगिताको फाइनलभन्दा सेमिफाइनल महत्वपूर्ण छ।
नेपालका लागि समूह विजेता हुनु महत्वपूर्ण किन छ भने समूह एको बिजेता र समूह बीको उपविजेताबीचको म्याच त्रिवि मैदानमा हुनेछ। त्रिवि मैदानमा नेपालको ब्याटिङ निकै चल्ने गर्छ। यहाँ नेपाललाई हराउन कुनै पनि टिमका लागि सहज हुँदैन।
प्रतिक्रिया