त्रिकोणात्मक श्रृंखला : हङकङलाई हराउँदै नेपाल फाइनलमा

त्रिकोणात्मक श्रृंखला : हङकङलाई हराउँदै नेपाल फाइनलमा


काठमाडौँ ।

लगातार तीन खेल जित्दै घरेलु टोली नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा स्थान सुरक्षित गरेको छ। तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेट तथा हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

आजको खेलमा २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रनमात्र बनाउन सक्यो। हङकङका लागि अन्सुमन रथले ४५ तथा आइजाज खानले २५ रन बनाए।

नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले २–२ तथा प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट हात पारे। यसअघि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाए।

नेपालका लागि कुशल मल्लले ४१ बलमा ९ छक्का र ३ चौकाको मदतमा ९२ रन बनाए। दिपेन्द्र सिंह ऐरीले ३४ बलको सामना गर्दा ६ चौका र २ छक्का हिर्काएर ५७ रनको योगदान गरे।

आशिफ २० रन, कप्तान रोहित पौडेल ११, सोमपाल ८ रन तथा कुशल २ रनमा आउट भए। हङकङका मोहम्मद गजानफर र हारुन अर्शदले २–२ तथा आयुश शुक्ला र आइजाज खानले एक(एक विकेट हात पारे।