मेलबर्न अष्ट्रेलिया ।
अष्ट्रेलियाव्यापी ‘दोस्रो एक्सपर्ट कप’ फुटबल प्रतियोगिताको उपाघि थ्रीकेजी स्पोर्टीङ क्लबले जितेको छ। आइतबार मेलबर्नको किलोरपार्क सकर क्लबमा भएको फाइनल खेलामा साविक बिजेता यती फुटबल क्लबलाई २–४ गोल अन्तरले पराजित गर्दै थ्रीकेजीले उपाधि कब्जा गरेको हो।
निर्धारित समयमा दुबै क्लबले बराबरी खेलेपछि खेल प्यानल्टी सुट आउटमा गएको थियो। प्यानल्टी सुट आउटमा यीत लाई थ्रीकेजीले २–४ ले गोल अन्तरले पराजित गरेको हो। उपाधि जितेसँगै थ्रीकेजी स्पोर्टीङ क्लबले ११ हजार अष्ट्रेलियन डलर नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। यस्तै उपाधि उचाल्न चुकेको यती फुटबल क्लबले ४ हजार पाँच सय अष्ट्रेलियन डलर मा चित्त बुझायो।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर यती फुटबल क्लबका एलन न्यौपाने घोषित भए। टुर्नामेन्टकै उत्कृष्ट खेलाडी थ्रीकेजी स्पोर्टिङ क्लबका सोनाम तामाङ, बेष्ट डिफेन्डर थ्रीकेजी स्पोर्टिङ क्लबका मनबहादुर तामाङ, टप स्कोरर रोयल वेस्टर्न क्लबका आकाश मगर, बेष्ट मिडफिल्डर थ्रीकेजीका सुनिल श्रेष्ठ घोषित भए। खेलका उकृष्ट खेलाडीलाई नगद, मेडल प्रमाणपत्र दिएर सम्मान गरिएको रोयल वेस्टर्न क्लबका जनसम्पर्क अधिकृत उज्ज्वल अधिकारीले जानकारी दिए।
यस्तै बेटर च्वाइस भेट्रान कपको उपाधि यती फुटबल क्लबले जितेको छ। डिफेन्डिङ च्याम्पियन क्रेगिबर्न ब्रिगेड फुटबल क्लबलाई हराउँदै यतीले उक्त उपाधि जितेको हो। बेटर च्वाइस भेट्रान कपको उपाधि जितेको यतीले १५ अष्ट्रेलियन डलर, ट्रफी, मेडल पायो भने रनरअप भएको क्रेगिबर्न ब्रिगेड फुटबल क्लबले एक हजार अष्ट्रेलियन डलर पाएको छ। यती फुटबल क्लबका अरुण श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट घोषित भए।
रोयल वेष्टर्न क्लबका अध्यक्ष रोसन दाहालको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि ब्रिम्बाङ्क सिटी काउन्सिलका मेयर ब्रुस ल्यान्काशायर, एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिेसेज मेलबर्नका निर्देशक बसन्त पोखरेल, काठमाडौं प्रोपर्टिजका निर्देशक दिक्पाल देव पंगेनी र बेटर च्वाइस मोर्टगेज एण्ड फाइनान्सका निर्देशक सुरेन्द्र सेढाईको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सुनिल भण्डारीले गरेका थिए। उक्त कार्यक्रममा नेपाली कलाकार मानस राजले सांगीतिक प्रस्तुति दिएका थिए। उनले आफ्ना चर्तित गीत गायर उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए।
अष्ट्रेलियामा नेपाली सामुदायिक फुटबल प्रतियोगिता मध्येको सबैभन्दा ठूलो पुरस्कार राशिको टुर्नामेन्ट खेल्न सिड्नी, मेलबर्न, एडिलेड लगायतका विभिन्न सहरका १६ फुटबल टिमको सहभागिता रहेको थियो। रोयल वेष्टर्न क्लब आयोजक रहेको उक्त फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिेसेज रहेको थियो।
कार्यक्रममा बोल्दै संयोजक शसेन्द्र केसीले एक्सपर्ट कप २०२३ र बेटर च्वाइस कप २०२३ का सहभागी टिमलाई धन्यबाद दिएका थिए। उनले दुबै प्रतियोगितालाई सम्पन्न गर्नका लागि सहयोग गर्ने प्रायोजक, स्वयंसेवक, भिक्टोरियामा रहेका नेपाली संघ–सस्था र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति आभार प्रकट गरेका छन्।
प्रतिक्रिया