अष्ट्रेलियाव्यापी ‘एक्सपर्ट कप’ फुटबल प्रतियोगिता हुँदै, विजेतालाई ११ हजार डलर

अष्ट्रेलियाव्यापी ‘एक्सपर्ट कप’ फुटबल प्रतियोगिता हुँदै, विजेतालाई ११ हजार डलर


मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाव्यापी दोश्रो एक्सपर्ट कप फुटबल प्रतियोगिता अक्टोबर १४ र १५ तारिख मेलबर्नमा हुने भएको छ । आईतबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको ग्लेनरोय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो प्रतियोगितामा प्रथम हुने फुटबल टिमले ११ हजार डलर पुरस्कार र ट्रफी तथा प्रमाणपत्र हात पार्नेछ ।

यस्तै दोश्रो हुने टिमले ४५ सय डलर प्राप्त गर्नेछ भने अन्य विभिन्न विधामा समेत नगद पुरस्कार दिइनेछ । अष्ट्रेलियामा नेपाली सामूदायिक फुटबल प्रतियोगितामा यो नै सबैभन्दा ठूलो राशी हो । प्रतियोगितामा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, एडिलेड लगायतका विभिन्न शहरबाट १६ फुटबल टिमको सहभागिता रहनेछ ।
मेलबर्नको किलोरपार्क सकर क्लबमा हुने प्रतियोगितामा ३५ वर्ष माथिको उमेर समूहको लागि छुट्टै बेटर च्वाईस कप समेत आयोजना हुनेछ ।

जसमा पहिलो हुनेले १५ सय डलर पुरस्कार प्राप्त गर्नेछन् भने दोश्रो हुनेले एक हजार डलर नगद प्राप्त गर्ने पनि आयोजक रोयल वेष्टर्न क्लबले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक ससेन्द्र केसीले खेलका नियमहरुबारे जानकारी दिएका थिए । कार्यक्रममा उपस्थितहरुलाई क्लबका निर्देशक रोशन दाहालले स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख प्रायोजक एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिेसेज मेलबर्नका निर्देशक बसन्त पोखरेलले अघिल्लो पटक भन्दा अझ भव्य रुपमा प्रतियोगिता सम्पन्न हुनेमा आफुहरु विश्वस्त रहेको धारणा राखे । उनले खेलको माध्यमबाट समूदायमा केही योगदान गर्न सकेकोमा आफुहरुलाई सन्तुष्टि मिलेको पनि बताए । पत्रकार सम्मेलनमा प्रायोजक काठमाडौं प्रोपर्टिजका सुदिप न्यौपानेले पनि प्रतियोगिता सफलताको कामना गरेका थिए । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका नेपाल निर्देशक विकास ज्ञवालीले अष्ट्रेलियामा नेपाली समूदायले गर्ने प्रतियोगिताको भव्यता देखेर आफु निकै प्रभावित भएको बताएका थिए ।

उक्त अवसरमा गरिएको ड्रबाट समूहमा रहने क्लबहरु घोषणा गरिएको थियो । जस अन्तर्गत समूह एमा रोयल वेष्टर्न क्लब ए, यति फुटबल क्लब ब्लू, चन्द्रसूर्य फुटबल क्लब, ईष्टर्न वारियर फुटबल क्लब रहेका छन् भने समूह बीमा हिमायन फुटबल क्लब, यति फुटबल क्लब रातो, हिमायन टाईगर्स, थन्डर ड्रागन फुटबल क्लब छन् । यस्तै समूह सीमा रोयल वेष्टर्न क्लब बी, सेन्ट जर्ज नेप्लीज क्लब, रोयल फुटबल क्लब, कालिका फुटबल क्लब रहेका छन् । समूह डीमा थ्रीकेजी स्पेर्टस क्लब, युनाईटेड फुटबल क्लब, बेनी फुटबल क्लब, क्रेगीबर्न ब्रिगेड सकर क्लब परेका छन् । खेल विहान ९ बजेबाट सुरु हुनेछ ।