चितवन समाज भिक्टोरियाले गर्यो नेपालबाट आएका अभिभावकहरुको भ्रमणदर्शन कार्यक्रम

चितवन समाज भिक्टोरियाले गर्यो नेपालबाट आएका अभिभावकहरुको भ्रमणदर्शन कार्यक्रम



मेलबर्न, अष्ट्रेलिया । नेपालबाट आफ्ना सन्तानलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरुलाई चितवन समाज भिक्टोरियाले विभिन्न मन्दिरको भ्रमण गराएको छ । आईतबार मेलबर्नमा उनीहरुलाई मन्दिर, पार्क लगायतमा लगी एक आपसमा भेटघाट र रमाइलो गर्ने वातावरण मिलाइएको थियो । चितवन समाज भिक्टोरियाका अध्यक्ष विपुल ज्ञवालीका अनुसार १ सय ७० भन्दा बढी अभिभावकहरु यो कार्यक्रममा सहभागी भए । संस्थाले यस किसिमको कार्यक्रम गरेको यो तेश्रो पटक हो । कार्यक्रम अन्तर्गत रकव्याङ्कमा रहेको दुर्गा मन्दिर, लारामा रहेको बौद्ध गुम्बा र जिलोङमा रहेको बोटानिकल गार्डेनमा उनीहरुलाई घुमाइएको थियो । बसको यात्रामै गीत र भजनमा मस्त रमाएका अभिभावकहरुले बोटानिकल गार्डेनमा आयोजना गरिएको कार्यक्रममा खुलेरै यस्ता कार्यक्रमले खुशी मिलेको बताए ।

नेपालबाट अष्ट्रेलियामा आएर आफ्नो परिवारसँग बस्दै आएपनि आफुहरुजस्तै उमेर समूहका व्यक्तिहरुसँग भेटघाट हुन नपाउने गरेका कारण न्यास्रो मान्ने अवस्थाबाट उनीहरु आफ्नै नजिकका साथीभाई समेत समेटेर यस्तो कार्यक्रम गरिदिएकोमा चितवन समाजप्रति कृतज्ञता व्यक्त गरिरहेका थिए ।

संक्षिप्त औपचारिक कार्यक्रममा बोल्दै संस्थाका पूर्वअध्यक्षहरु अनुपम पाठक र सोम गुरुङले आफ्ना आमाबुबाको सेवा गर्न पाउनु खुशीको कुरा भएको र यस्ता कार्यक्रमलाई निरन्तर लैजाने धारणा राखेका थिए । उनीहरुले विगतमा चितवन समाजले गरेका कार्यक्रमहरुकोबारेमा जानकारी समेत दिए । कार्यक्रममा स्वयंसेवकका रुपमा चिवतन समाजका पदाधिकारी संलग्न थिए । अभिभावकहरुको तर्फबाट बोल्दै जुना खनाल र गोविन्द सिंह भण्डारीले सबैको प्रगतिको कामना गर्नुभएको थियो । यस किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर गर्न उहाँको आग्रह थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष विपुल ज्ञवालीले यस कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने कार्यसमितिका सदस्यहरु, विभिन्न क्षेत्रका संयोजकहरुसहित संलग्न सबैलाई धन्यवाद दिएका थिए । अभिभावकको सेवाभन्दा ठूलो अरु केही नभएको भन्दै उनले उत्साहजनक सहभागिताका लागि अभार व्यक्त गरे । कार्यक्रम पश्चात बुबाआमाहरुको फोटोसेसन नजिकैको समुद्री किनारमा गरिएको थियो ।