काठमाडौं ।
आर्थिक लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन्। फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका केसी छातीमा पीडा भएपछि अस्पताल भर्ना भएका हुन्।
शुक्रबार भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो। छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले जानकारी दिए।
‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन्। उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो।
प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ।
प्रतिक्रिया