काठमाडौँ ।
साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो।
टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो। नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए।
त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे। दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो।
यसअघि खेलको निर्धारित समयसम्मको खेल १–१ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरबाट पुगेको हो। खेलमा पहिलो अग्रता भने भारतले लियो। खेलको २६औँ मिनेटमा भारतका खेलाडी गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट गोल गरे।
त्यसपछि खेलको ७४ मिनेटमा नेपालका समीर तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए। उनले दीपक थापा मगरको असिस्टमा हेड गोल गरेका हुन्।
यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ। जितसँगै भारतले फाइनल खेलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ। फाइनल खेल यही शनिबार हुनेछ।
प्रतिक्रिया