एसियाली खेलकुद : नेपालको विजयी सुरुवात, मंगोलिया २७३ रनले पराजित

एसियाली खेलकुद : नेपालको विजयी सुरुवात, मंगोलिया २७३ रनले पराजित


काठमाडौँ ।

नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ । नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ।

चीनको हांग्जाउमा भएको खेलमा नेपालले दिएको ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३।१ ओभरमा ४१ रन बनाउँदै अलआउट भयो। यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो।

मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन्।

यसअघि मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको थियो।

नेपालका कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले। कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए। योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन्। यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो।

दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे। दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका थिए। यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन्।

कप्तान राहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए। तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए। कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए।

मंगोलियाको यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल हो।