साफ च्यापियनशिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश

साफ च्यापियनशिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश


काठमाडौँ ।

राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। नेपालको जितमा समीर तामाङले दुई गोल गरे भने प्रशान्त लक्षम र निराजन धामीले समान एक–एक गोल गरे।

खेलको पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल गर्याे। खेलको १७औँ मिनेटमा नेपालका प्रशान्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए। उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो।

त्यस्तै खेलको ३०औँ मिनेटमा नेपालले दोस्रो अग्रता लियो। समिरले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए। यसैगरी खेलको ५८औँ मिनेटमा माल्दिभ्सका लायन रसिदले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। तर ८८औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याए। त्यसपछि समीरले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे।

समूह ‘ए’ बाट सेमिफाइनलमा नेपाल र पाकिस्तान पुगेका छन्। माल्दिभ्स भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।