नाटक र चलचित्रपछि पुस्तक बन्यो ‘पानीफोटो’

नाटक र चलचित्रपछि पुस्तक बन्यो ‘पानीफोटो’


काठमाडौँ ।

आज यहाँ एक कार्यक्रमको आयोजना गर्दै अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले लेखेको पुस्तक ‘पानीफोटोः पानादेखि पर्दासम्म’ लोकार्पण गरिएको छ। अभिनेता लामिछानेसँग काम गर्नुभएका निर्देशकहरू मनोज पण्डित, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, अशोक शर्मा र अभिनेत्रीहरू स्वस्तिमा खड्का, ऋचा शर्मा, सुरक्षा पन्त, मलिका महतलगायतले पुस्तक संयुक्त रुपमा लोकार्पण गरे।

लेखक लामिछानेले नाटकपछि चलचित्रका रुपमा तयार गरेको ‘पानीफोटो’ लाई पुस्तकको स्वरूप दिएका हुन्। चलचित्र छायाङ्कन गरेर तयार भएपछि फुर्सदको समयमा पुस्तकको स्वरूप दिएको उनले बताए। उनले भने, “लकडाउनको समयमा घरमा रहँदा नै चलचित्र पूरा भएकाले त्यसलाई पुस्तकमा उतार्न सफल भए। यसमा मैले पहिलोपटक चलचित्र निर्देशन गर्दाका अनुभवलाई समेटेको छु। यसले नयाँ चलचित्रकर्मीलाई मार्गदर्शन गर्छ भन्ने विश्वास छ।”

प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको पुस्तकले चलचित्रबारे सन्देश प्रवाह गर्ने अभिनेता तथा निर्देशक नीर शाहले बताए।

“पुस्तकले चलचित्र पढ्ने विद्यार्थीहरुलाई मार्गदर्शन गर्छ। चलचित्र बनाउँछु भनेर हिँड्नेहरुले एक पटक पानीफोटो पढ्नै पर्छ”, अभिनेता शाहले भने, “चलचित्र पढाउने कलेज र यससँग सम्बन्धित रहेर काम गर्ने संस्थाले यो पुस्तक राख्न जरुरी छ।”

प्रकाशन गृह फाइनप्रिन्टका लागि यो पुस्तक खास रहेको प्रकाशक नीरज भारीले बताए। उनले भने, “यो पुस्तक विशेषगरी चलचित्रमा रूचि राख्नेहरुका लागि बढी उपयोगी छ। चलचित्र के हो ? चलचित्र निर्माणको योजनादेखि, निर्माण–प्रदर्शनसम्मको यात्राकथालाई यसले जीवन्त रुपमा प्रस्तुत गरेको छ।”

‘पानीफोटो’ नेपालमा १२ वर्ष चलेको माओवादी युद्धको सयममा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरुले छोरा खोज्न गरेको प्रयत्नको कथा हो। लेखक लामिछानेले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरूकुलमा मञ्चन गरेका थिए। यही नाटकलाई उहाँले आफ्नै निर्देशनमा चलचित्रको स्वरुपमा प्रस्तुत गरेको चलचित्र ‘पानीफोटो’ विसं २०७९ साउन १३ मा प्रदर्शन भएको थियो।

कार्यक्रममा लेखक एवम् निर्देशक लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारूले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरेका थिए। कार्यक्रममा निर्माता रवीन्द्रसिंह बानियाँ, निर्देशक फिरोज खड्का, वितरक करण श्रेष्ठलगायत उपस्थित थिए।