मेलबर्न अष्ट्रेलिया ।
रोयल वेस्टर्न्स क्लबको आयोजनामा दोस्रो ‘एक्स्पर्ट कप २०२३’ हुँदैछ। एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेस मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिता आगामी अक्टोबर १४ र १५ तारिख मेलवर्नमा हुन लागेको हो।
शनिबार क्लबले एक विज्ञप्ति जारी गर्दै दोस्रो ‘एक्सपर्ट कप’ फुटबल प्रतियोगितामा दिइने पुरस्कार विवरण सार्वजनिक गरेकाे छ। अष्ट्रेलियाको नेपाली फुटबल प्रतियोगिता मध्यकै सर्वाधिक पुरस्कार राशिको उक्त टुर्नामेन्टको विजेताले ११ हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने रोयल वेस्टर्न्स क्लबका जनसम्पर्क अधिकृत उज्जल अधिकारीले केबीसी खबरलाई जानकारी दिए।
यस्तै प्रतियोगितामा दोस्रो हुनेले ४ हजार ५ सय डलर नगद ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ।
उनका अनुसार प्लेयर अफ द टुर्नामेन्टले पाँच सय, बेस्ट गोलकिपरले तीन सय, बेस्ट डिफेन्डरले तीन सय, बेस्ट मिडफिल्डरले तीन सय, हाई स्कोररले तीन सय र म्यान अफ द म्याचलाई दुई सय अष्ट्रेलियन डलर पुरस्कार दिइने छ।
उक्त प्रतियोगितामा अष्ट्रेलियामा रहेका आप्रवासी नेपाली फुटबल क्लवहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने अधिकारीले बताए। आयोजक रोयल वेस्टर्न्स क्लबले पहिलो एक्स्पर्ट कप भव्यताका साथ सम्पन्न गरिसकेको छ।
यस्तै क्लबले ३५ वर्षमाथिका खेलाडीहरूको लागि फरेबर योङ कपको पनि आयोजना गर्ने अधिकारीले बताए । उक्त प्रतियोगिताको विजेताले १५ सय, उपविजेताले एक हजार अष्ट्रेलियन डलर पुरस्कारको व्यवस्था गरिएको उनले बताए। खेलका उत्कृष्ट खेलाडीलाई तीन सय अष्ट्रेलियन डलरको नगद पुरस्कार प्रदान गरिने उनले बताए।
प्रतिक्रिया