मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्नको ईपिंग, उलर्ट, थोमस्टाउन र लेलोर आसपासमा बसोबास गर्ने नेपालीहरूको संस्था नेप्लीज नेबर्हुड कम्युनिटीको तीज कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा एक हजारभन्दा बढी सहभागी भएको आयोजक संस्था नेबर्हुड कम्युनिटीले जनाएको छ। ईपिंग मेमोरियल हलमा गरिएको कार्यक्रममा नेपाली चेलीहरु आफ्नो परिवारका साथ तीज मनाउन उपस्थित भएका थिए। कार्यक्रममा नेपालका चर्चित गायक खुमन अधिकारीले आफ्ना विभिन्न हिट गीतहरूका साथै नयाँ सिर्जना पस्केका थिए।
यस्तै गायिका आरती रुचालले पनि उपस्थित दर्शकलाई आफ्नो प्रस्तुतिले नचाउन सफल भएकी थिइन्। कार्यक्रममा उपस्थित हुन पाउँदा निकै खुशी भएको बताएका गायक अधिकारीले आफ्नो जापान भ्रमणलाई नै पछि सारेर भए पनि कार्यक्रममा सहभागी भएको बताए। कार्यक्रमको सञ्चालन जमुना अधिकारी रिजाल, अंसु महरा, रिया रिजाल, प्राची कोइराला, अलिशा सापकोटा र प्रकाश राज रेग्मीले गरेका थिए।
कार्यक्रममा उपस्थित चेलीहरूलाई संस्थाका अध्यक्ष कृष्ण महरा तथा सचिव निर्दोष गिरीले शुभकामना दिएका थिए। भिक्टोरियाकी सांसद एवं ऊर्जामन्त्री लिली डाम्बोर्सियो, भिक्टोरियन मल्टिकल्चरल कमिशनकी अध्यक्ष भिभिन न्यूगिन, ह्वीटल्सी काउन्सिलका पदाधिकारी लगायत उक्त अवसरमा शुभकामना दिन उपस्थित भएका थिए।
उक्त अवसरमा बालबालिकाहरुको लागि फेस पेन्टिंग, फोटो सुट तथा सहभागी सबैलाई राफलको व्यवस्था गरिएको थियो। कार्यक्रमको राफलमा विजयी हुनेहरुलाई गायक कलाकार तथा प्रायोजकहरूको हातबाट पुरस्कार वितरण गरिएको थियो।
हरेक वर्ष तीजको अवसरमा नेप्लीज नेबरर्हुड कम्युनिटीले कार्यक्रम गर्दै आएको छ। यस पटक अभूतपूर्व सफल भएको र ६ सय जना सहभागी हुने अपेक्षा गरिएकोमा एक हजार सहभागी भएर उत्साह बढाइदिएको संस्थाका अध्यक्ष महराले केविसी खबरलाई जानकारी दिए।
प्रतिक्रिया