भिक्टोरियाका नेपाली महिलाहरूले मनाए तीज

भिक्टोरियाका नेपाली महिलाहरूले मनाए तीज


मेलबर्न अष्ट्रेलिया ।

भिक्टोरियाका महिला दिदीबहीनहरुले हरितालिका तीज मनाएका छन्। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आयोजना गरेको उक्त कार्यक्रममा भिक्टोरिया राज्यका नेपाली महिला दिदीबहिनीहरूले नाचगान गर्दै भव्य रूपमा मनाएका हुन्। 

मेलबर्नस्थित इस्नोनिया हाउस वेस्ट बन्सविकमा आयोजित तीज कार्यक्रममा ६ सय भन्दा महिला दिदीबहिनीको उपस्थिति रहेको न्याभ उपाध्यक्ष ललिशा थापाले जानकारी दिएकी छन्। नेपालका चर्चित कलाकार पशुपति शर्माले गीत गाउँदा उपस्थित महिला दिदीबहिनी कम्मर मर्काइ मर्काइ नाचेका देखिन्थे। गायक शर्माले आफ्ना चर्चित गीत पस्किँदा कार्यक्रम स्थल तीज मय भएको थियो। कार्यक्रममा कला लम्सालले पनि प्रस्तुती दिएकी थिइन्।

तीज कार्यक्रमको अवसर पारेर भिक्टोरियामा उद्यम गरिरहेका नेपाली महिलाहरूलाई सम्मान गरिएको उनले बताइन्। 

उनका अनुसार कार्यक्रममा प्रमिला श्रेष्ठ, रञ्जु क्षेष्ठ, अर्चना श्रेष्ठ, अर्चना डाँगी क्षेत्री, सोनी बैदार राजभण्डारी, रुवी श्रेष्ठ, रेनुका पाठक, कुसुम मगर, पिंकी थापा, प्रेना मल्ल, रमिला महर्जन, रबिता रबिला र हिरा लामालाई सम्मान गरिएको थियो। 

तीजको अवसरमा महिला उद्यमीलाई अग्रणी महिलालाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको उनले बताइन्। अन्तिम मिति पछि दर्ता गर्न चाहने सबैलाई समावेश गर्न नसकेकोमा क्षमा मागेकी छन्। 

उनले उपस्थिति जनाएर कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गराउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथि, प्रयोजक सह–प्रयोजक र सहभागी दाजुभाइ तथा दिदीबहिनीलाई धन्यवाद दिएकी छन्। 

यस्तै न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले तीज पर्वको शुभकामना दिँदै न्याभले नेपाली कला संस्कृतिलाई अष्ट्रेलियाको बहु सांस्कृतिक समुदायमा स्थापित गर्नको निम्ति सदैव काम गरिरहने बताए।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा भिक्टोरियन मल्टीकल्चरल एसोसियसनका उपाध्यक्ष ब्यू थाए, सोसलिस्ट अलायन्स नेत्री सु बोल्टनसहित एनआरएनए भिक्टोरिया अध्यक्ष मणिरत्न सापकोटा, न्याभका संस्थापक अध्यक्ष डा। राजु अधिकारी, पूर्व अध्यक्ष रन्जन वैद्य,  डा. अनुपम पोखरेल,अष्ट्रेलियाली नेपाली बहु सांस्कृतिक केन्द्र एएनएमसीका अध्यक्ष गान्धीप्रसाद भट्टराई लगायत विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले विशेष उपस्थिति जनाएका थिए।

न्याभका सचिव माधव खरेल, सहसचिव आलोक पौडेलले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए भने धना तामाङ, क्रिष्टिना अनु र अनिश शर्मा गैरेले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । न्याभका खेल संयोजक दीप चन्दले अतिथि सत्कारको जिम्मा लिएको थिए। 

भिक्टोरियाका नेपाली संघ-संस्थाहरुसँगको समन्वयमा भएको कार्यक्रमलाई मिराज कन्सल्टिङ्गको मुख्य प्रायोजन तथा चान्डलर आरटीओको सह प्रायोजन गरेको थियो।