नेपाल थाइल्यान्डसँग पराजित, विश्वकप छनोटबाट बाहिरियो

नेपाल थाइल्यान्डसँग पराजित, विश्वकप छनोटबाट बाहिरियो


काठमाडौँ ।

थाइल्यान्डसँग पराजित भएसँगै नेपालको आगामी वर्ष बंगलादेशमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप खेल्ने सपनामा पुर्णबिराम लागेको छ।

मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सम्भावनाको अन्त्य भएको हो।

जितका लागि १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ५९ रनमात्र जोड्न सक्यो। नेपालका लागि कविता कुँवरले १७ रन तथा कविता जोशी र अप्सरी बेगमले समान १०–१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

थाइल्यान्डका लागि ओनिचा कामोचम्फुले र नाटाया बुचाथमले समान ३-३, थिपाचा पुथाओङले २ विकेट तथा सुनिडा चाटुरोन्ग्राटाना, फनिता मायाले १-१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो। थाइल्यान्डका लागि नानापाट खोन्चारोएन्काईले अविजित ५९ रन तथा नाथाकान चानथामले ३१ रनको योगदान गरे।

नेपालका लागि पूजा महतो र कविता कुँवरले १–१ विकेट हात पारे।