युनाइटेड एफसी मेलबर्नले जित्यो एमसीएसए प्रिमियम लिगको उपाधि 

युनाइटेड एफसी मेलबर्नले जित्यो एमसीएसए प्रिमियम लिगको उपाधि 


मेलबर्न अष्ट्रेलिया ।

मेलबर्नमा जारी एमसीएसए प्रिमियम लिगको उपाधि युनाइटेड फुटबल क्लब मेलबर्नले उचालेको छ। लिग चरणका खेल बाँकी रहँदै युनाइटेड एफसी विजेता घोषित भएको हो।

मेलबर्न चाइनिज सकर एसोसिएसन (एमसीएसए) ले आयोजना गर्ने लिगमा अरु दुई नेपाली क्लब हिमालयन टाइगर्स र हिमालयन एफसी क्रमशः सातौँ र नवौँ स्थानमा रहे। युनाइटेड एफसीका सन्तोष तामाङ लिगको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

लिग चरणमा १८ खेल खेलेको युनाइटेड एफसीले १६ मा जित निकालेको थियो। एक खेल बराबरी खेलेको  युनाइटेड एफसीले एक खेलमा भने हार बेहोरेको थियो। 

एमसीएसए प्रिमियम लिग अवधिमा युनाइटेड एफसी मेलबोर्नले ८५ गोल गर्दै ५९ अंक जोडेको थियो। निकटतम प्रतिस्पर्धी भन्दा युनाइटेड एफसीले ५७ गोल अन्तरले एमसीएसए प्रिमियम लिगको उपाधि कब्जा गरेको हो।

मेलबर्न चाइनिज सकर एसोसिएसन (एमसीएसए) आयोजना गरेको एमसीएसए प्रिमियम लिग प्रतियोगितामा १३ टिमको सहभागीता रहेको थियो। भिक्टोरियाको मेलबर्नमा रहेका नेपाली क्लबहरुका लागि हाल यही लिग नै सबैभन्दा माथिल्लो प्रतियोगिता मानिन्छ।

क्लबले प्रिमियम लिगको उपाधि जित्नमा सहयोग गर्ने भिक्टोरियावासी नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेको छ।