ए डिभिजन लिगमा पुलिसको पहिलो हार, जावलाखेललाई पहिलो अंक !

ए डिभिजन लिगमा पुलिसको पहिलो हार, जावलाखेललाई पहिलो अंक !


काठमाडौं, २७ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले पहिलो हार बेहोरेको छ । दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई एक–शून्य गोलले हरायो । संकटाका लागि खेलको १८ औँ मिनेटमा निरज बस्नेतले गोल गरे । जितसँगै संकटा आठ अंकसहित चौथो स्थानमा पुगेको छ । पुलिस पाँच अंक जोडेर सातौँ स्थानमा छ ।
यसैगरी आजै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले गोलका अवसर सदुपयोग गर्न नसकेपछि अंक बाँडेका हुन् । आजको बराबरीसँगै जावलाखेलले खाता खोलेको छ । यसअघिका तीन वटा खेलमा जावलाखेल पराजित भएको थियो । यो बराबरीसँगै ब्रिगेड ब्वाइज पाँच अंकसहित तालिकाको सातौँ स्थानमा छ । चौथो चरणका खेल सकिँदा मच्छिन्द्र क्लब १० अंकसहित शीर्ष स्थानमा रहेको छ । समान अंक भए पनि मनाङ मर्स्याङ्दी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । जावलाखेल एक अङ्कसहित तेह्रौँ स्थानमा छ ।